‘बुलाकी’ हलबाट फिर्ता लिइयो, निर्मातालाई डुबाउन खोजिएको गुनासो

‘बुलाकी’ हलबाट फिर्ता लिइयो, निर्मातालाई डुबाउन खोजिएको गुनासो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबार अर्थात् बैशाख १ गते नयाँ बर्षको अवसरमा प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’ हलबाट उतार्ने घोषणा निर्माता बिराज बिष्टले गरेका छन् । प्रदर्शनको दोस्रो दिनबाटै देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शोज कटौती गरिएको, अफटाइम शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा शो नै नदिएको कारण देखाउँदै सिनेमा हलबाट उतार्ने घोषणा निर्माता विष्टले गरेका हुन् ।

शनिबार राती फेसबुकमा दर्शकसँग क्षमा माग्दै विराजले लेखेका छन्, ‘हाम्रो सिनेमा हेर्न बाँकी सम्पूर्ण दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आइतबारबाट प्रदर्शनरत सबै हलबाट सिनेमा फिर्ता लिएको घोषणा गर्दछौं । सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको सिनेमालाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो यो हामी विल्कुल मान्न तयार छैनौं ।’

अब दर्शकहरुको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक-चौतारा सिनेमा देखाउने विष्टले उल्लेख गरेका छन् । काठमाडौंले अवहेलना गरेको कर्णाली र सुदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै सिनेमा बनाउँदा सिनेमा क्षेत्रले समेत त्यही व्यवहार दोर्होयाएको उनको गुनासो छ । ‘देश, समाज र माटो बोल्ने अझै धेरै कथा लिएर आउनेछु । म थाकेको मात्र हुँ, हारेको छैन’, विराज लेखेका छन् ।

प्रदर्शनरत सिनेमा ‘बुलाकी’ निर्माताले सिनेमा फिर्ता लिएको जानकारी आफुरुलाई नभएको वितरक छविराज ओझाले बताए । उहाँहरुले एक पटक हामीसँग सल्लाह गर्न सक्नु हुन्थ्यो गर्नु भएन । त्यसैले आफुहरुले सिनेमाको मोफसल वितरणको जिम्मा लिएकाले एक पटक निर्माण टिमसँग बुझेर के भएको हो जानकारी लिएर मोफसलका हललाई सिनेमा रिलिज रोक्न जानकारी दिने बताउँछन् ।