एकअर्काको ओटीटी प्लेटफर्ममा नेपाली र दक्षिण भारतीय निर्माताले सिनेमा रिलिज गर्ने

एकअर्काको ओटीटी प्लेटफर्ममा नेपाली र दक्षिण भारतीय निर्माताले सिनेमा रिलिज गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल र भारतका सिनेमा सम्बद्ध संस्थाहरु आफ्नो देशमा निर्माण भएकका सिनेमालाई एकअर्काको देशमा रहेका ओटीटी र हलमा रिलिज गर्न सहमत भएका छन् ।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित इन्डो-नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३ मा सिनेमा रिलिज सम्झौता भएको हो । नेपाल सिनेमा प्रमोसन सर्किट (एनएफपीसी) र सिनेमा एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी)बीच दुई देशबीच संस्कृतिसँगै सिनेमाको बजार आदानप्रदान गर्ने सहमति भएको थियो ।

समिटको प्रमुख अतिथिको रुपमा सहभागि विकास बोर्डका अध्यक्ष भुवन केसीले द्धिपक्षीय सहमतिलाई नेपाली सिनेमाको हितमा प्रयोग गर्न आग्रह गरे । नेपालमा छायांकन हुने दक्षिण भारतीय सिनेमालाई स्वागत गर्न बोर्ड आतुर रहेको बताउँदै उनले एकअर्काको बजार खोज्ने कुरा सकारात्मक रहेको उल्लेख गरे ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको सिनेमालाई रिलिज गर्ने तयारी गरिरहेको बताइन् । उनका अनुसार नेपाली सिनेमालाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतका ओटीटीमा रिलिज गरिनेछ । यसका लागि आफूहरुसँग १५ देखि १८ वटा ओटीटी प्लेटफर्म रहेको जानकारी उनले दिइन् ।

‘राम्रा र स्तरीय नेपाली सिनेमालाई दक्षिण भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने हाम्रो तयारी छ । जतिसक्दो चाँडो सिनेमा रिलिज हुनेछ’ उनले भनिन्, ‘जसले गर्दा नेपाली सिनेमा पर्यटनदेखि बजारीकरणसम्म फाइदा हुने विश्वास हामीलाई छ ।’

एनएफपीसी महासचिव तथा निर्देशक हिमाल न्यौपानेले स्तरीय दक्षिण भारतीय सिनेमालाई नेपाली ओटीटी प्लेटफर्म र हलमा रिलिज गर्नेबारे गृहकार्य भैरहेको बताए । ‘नेपाली सिनेमालाई केरला र तामिल सहितका दक्षिण भारतीय राज्यमा रिलिज गर्ने योजना छ’ उनले भने, ‘नेपाली सिनेमाको अन्तर्राष्ट्रियकरण होस् भन्ने हाम्रो चाहना हो ।’

एफटीपीसी सचिव पीभीएस बर्माले नेपाल र भारतबीच कला र सांस्कृतिक आदानप्रदान गर्न आफूहरु लागिपरेको बताए । ‘सिनेमा आदानप्रदान भनेको व्यवसायको सम्भावना, प्रविधि र कास्ट एण्ड क्रिउ आदानप्रदान पनि हो’ बर्माले भने, ‘सिनेमामार्फत हामी दुई देशबीच प्रशस्त सम्भावना विस्तार गर्न चाहन्छौं ।’

एफटीपीसी अध्यक्ष चैतन्य जंगको नेतृत्वमा दक्षिण भारतीय सिनेमाको टोली केही दिनदेखि काठमाडौंमा छ । टोलीले नेपाली सिनेमाको बजार र सम्भावनाबारे अध्ययन गरिरहेको छ । समारोहमा अध्यक्ष जंगले नेपाल र भारतबीच छायांकन थलो आदानप्रदान पनि महत्वपूर्ण पक्ष बन्न सक्ने बताए ।

दुई देशमा संयुक्त लगानीका सिनेमा निर्माणको सम्भावनाबारे पनि जोड दिएका थिए । अभिनेता कृष्ण मल्लले द्धिपक्षीय सहमतिका लागि शुभकामना दिए । समिटको क्रममा नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय गर्न महत्वपूर्ण भूमिका खेल्ने कलाकार, संगीतकर्मी, प्रदर्शक, निर्माता र निर्देशकलाई सम्मान प्रदान गरिएको थियो ।