चलचित्र पत्रकार संघले प्रदान गर्ने रजत सम्मानको घोषणा

चलचित्र पत्रकार संघले प्रदान गर्ने रजत सम्मानको घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले पहिलो पटक ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । चलचित्र विकास बोर्डको सभा हलमा बुधबार आयोजित एक कार्यक्रमका बीच आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४औं वार्षिकत्सवको अवसर पारेर रजत सम्मान प्रदान गरिने जानकारी दिइयो ।

कलाको विभिन्न विधामा कम्तिमा २५ वर्ष पत्रकारिताको माध्यमबाट योगदान र्पुयाएको र १५ वर्षभन्दा बढी निरन्तर संघमा आबद्ध भएको एकजना पत्रकारले हरेक वर्ष जेठ ७ गते उक्त सम्मान प्राप्त गर्ने संघका अध्यक्ष समीर बलामीले बताए । उनले अग्रज पत्रकारको हौसला बढाउन रजत सम्मान सुरु गर्न लागिएको जनाए । यो सम्मानको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।

चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते एक जनालाई एउटा ल्यापटपसहितको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार, दुई जनालाई ५१ हजार राशीको चलचित्र पत्रकारिता पुरस्कार र दुई जनालाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्दै आइरहेको छ । त्यस्तै, संघले मोफसलका ९ वटा शाखालाई समेटेर एक जना पत्रकारलाई २५ हजार राशीको पुरस्कार पनि प्रदान गर्दै आएको छ ।

संघले रजत सम्मान घोषणासँगै विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीको प्रमुख आतिथ्यतामा २०८० सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जन लगायतको उपस्थिति थियो ।