शुक्रबारबाट तीन सिनेमा ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’

शुक्रबारबाट तीन सिनेमा ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १५ अर्थात् शुक्रबारबाट तीन नेपाली सिनेमा ‘कैदीको पत्र’, ‘नाई नभन्नू ल ६’ र ‘प्रसाद २’ एकसाथ प्रदर्शनमा आएका छन् ।

यी तीन सिनेमामध्ये ‘नाई नभन्नू ल ६’ र ‘प्रसाद २’लाई बक्सअफिसमा राम्रो दर्शक बटुल्न सक्ने सिनेमाको रुपमा हेरिएको छ । किनकि, दुवै हिट सिनेमाका श्रृंखला हुन् । फेरि पनि व्यावसायिक सफलता हासिल गर्नुपर्ने ठूलो चुनौती दुवै सिनेमालाई छ ।

मल्टीप्लेक्सहरुले शोज बाँडफाँटमा ‘प्रसाद २’पछि दोस्रो स्थानमा ‘नाई नभन्नू ल ६’लाई राखेका छन् । तर, दुवै सिनेमाको एड्भान्स बुकिङ सुखद हुन सकेको छैन् । दुवै सिनेमालाई ‘डोर टु डोर सेल’को अपेक्षा छ । ‘कैदीको पत्र’ले मल्टीप्लेक्सहरुमा औसत शो पाएको छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स क्यूएफएक्स च्यानलमा भने सिनेमा प्रदर्शन भएको छैन ।

स्वर्गिय ईश्वर मानन्धरले लेखेको कथामा सिनेमा निर्माण भएको छ । सनम कुमार बैराग निर्देशित सिनेमा ‘कैदीको पत्र’मा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापालगायतको अभिनय छ ।

विकासराज आचार्यको निर्देशन रहेको ‘नाई नभन्नू ल ६’मा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, बाल कलाकार अथर्व उप्रेती, योगिशा खत्री, एभिलिना खड्का र एञ्जल राईलगायतको अभिनय छ । आशिर्वाद क्षेत्रीको डेब्यू सिनेमा ‘नाई नभन्नू ल’ सिरिजका पर्याय बनेका अनुभव रेग्मी यस पटक केमियो भूमिकामा देखिने छन् ।

यस्तै, सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रसाद २’मा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी आदिको अभिनय छ । अघिल्लो श्रृंखला जहाँ सकिएको थियो, त्यहीँबाट सिनेमाको नयाँ कथा सुरु भएको छ । पात्र मात्र परिवर्तन छन् । यही हप्ता काठमाडौंमा आयोजित प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको सिनेमालाई सुशील पौडेलले लेखेका हुन् ।