नेपालमा लिए ‘हल्कारा’का अभिनेता र छायाँकारले अमेरिकामा जितेको अवार्ड

नेपालमा लिए ‘हल्कारा’का अभिनेता र छायाँकारले अमेरिकामा जितेको अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हल्कारा’ले अमेरिकामा आयोजित ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल सिनेमा फेस्टिभल २०२२’मा प्राप्त गरेको उत्कृष्ट अभिनेता र छायाँकारको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । सिनेमाबाट महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड जितेका थिए ।

बिहीबार अस्कर इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको हो । अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहाल, सिनेमाटोग्राफर राजेश श्रेष्ठ, अस्कर कलेजका एकेडेमिक डिरेक्टर मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नवनिधि दाहाल र ‘हल्कारा’का निर्देशक विक्रम सापकोटाले त्रिपाठी र राजभण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

फेस्टिभलमा ‘हल्कारा’ले उत्कृष्ट सिनेमाको अवार्ड पनि जितेको थियो । सो अवार्ड भने निर्देशक सापकोटाले फेस्टिभलमै पुगेर लिएका थिए । त्रिपाठी र राजभण्डारीको अवार्ड भने फेस्टिभलले हुलाकमार्फत् नेपाल पठाएको हो । अवार्ड प्राप्त गर्दै महेशले स्तरीय काम गर्न सकेको खण्डमा विश्वस्तरमा नै प्रतिस्पर्धा गरेर सफल हुन सकिन्छ भन्ने आत्मविश्वास पलाएको बताए ।

सिनेमाका लेखक तथा सम्पादक निर्देशक सापकोटा स्वयं हुन् । सिनेमामा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन रहेको छ । कालीपार स्टुडियो र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको सिनेमामा महेश त्रिपाठीका अलवा बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ ।