डान्समा गरिएको मिहिनेतको ‘ज्याकी : आइ एम ट्वान्टी वान’ प्रिमियरमा प्रसंशा

डान्समा गरिएको मिहिनेतको ‘ज्याकी : आइ एम ट्वान्टी वान’ प्रिमियरमा प्रसंशा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘ज्याकी : आइएम ट्वान्टी वान’को मंगलबार राजधानीको एक सिनेमा हलमा भव्य प्रिमियर शोको आयोजना गरिएको छ । डान्सको विषयमा निर्माण भएको सिनेमालाई उपस्थित पाहुनाबाट राम्रो प्रतिक्रिया पाएको छ ।

नेपालमा पहिलो पटक डान्सको कथामा पहिलो पटक निर्माण भएको हो । डान्समा आधारित सिनेमा निर्माण गर्न लगानी, मिहिनेत र समय पर्याप्त चाहिन्छ । यसैले पनि नेपाली सिनेमाको इतिहासमा आजसम्म डान्स ड्रामा सिनेमा निर्माण भएका थिएनन् । परम्परागत कथावाचनको संरचना भत्काउने गरी निर्देशक रेनेशा राई राणाले डान्स ड्रामामा सिनेमा बनाउने आँट गरेकी हुन् ।

आफै पनि लामो समय नेपाली सिनेमामा कोरियोग्राफर भएर काम गरेकाले पनि उनले डान्स ड्रामामाथि सिनेमा निर्माण गर्ने चुनौती लिएकी हुन् । सिनेमाले बक्सअफिसमा राम्रो व्यापार गरेको खण्डमा नेपाली सिनेमामा अरुपनि डान्स ड्रामा बन्न सक्नेछ । सिनेमाको म’ख्य भुमिकामा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ छन् । सफल डान्सर बन्न उनीहरुले गरेको संघर्षमाथी सिनेमा निर्माण गरिएको छ ।

सिनेमाको प्रिमियरमा सिनेमाले उठाएको विषय र त्यसमा कलाकारदेखि निर्देशकसम्मले गरेको मिहिनेतको प्रशंसा भयो । ‘महापुरुष’ निर्देशक प्रदीप भट्टराई सिनेमाले उठाएको विषय नेपाली सिनेमा उद्योगका लागि नै एकदमै नयाँ भएको बताउँछन् । एउटै किसिमको कथावाचन शैलीलाई भत्काएर सिनेमाले नयाँ बाटो खोलिदिएको दाबी निर्देशक भट्टराईको छ ।

उनले सिनेमा हेरेपछि प्रतिक्रिया दिँदै भने, ‘डान्स यूनिर्भसमा पनि ड्रामा बुनिएको छ । सिनेमा उद्योगका लागि यो एकदमै नयाँ कथा हो । बजारमा जे बिक्छ त्यही बनाउने होड छ । तर, रेनाशा राईले कसैले आँट गर्न नसकेको विषयमा सिनेमा बनाउनु भएको छ । उहाँको आँटलाई म सलाम गर्छु । डान्स हेरेर मात्रै पनि दर्शकको पैसा वसुल हुन्छ । डान्सको कोरियोग्राफी पक्ष एकदमै राम्रो छ ।’

अभिनेत्री प्रियंका कार्की सिनेमाले आँखालाई ‘फ्रेस टेस्ट’ दिएको बताउँछिन् । ‘नेपालमा पहिलो पटक डान्सलाई प्राथमिकता दिएर सिनेमा बनेको छ । डान्समा गरिएको मिहिनेत राम्रो छ । रेनाशा राई आफैंमा राम्रो कोरियोग्राफर हुनुहुन्छ । नेपालका ‘टप’ डान्सरहरुलाई एकै ठाउँमा ल्याउन सफल हुनुभएको छ । मेरो आँखालाई आनन्द आयो,’ उनले भनिन् ।

अर्की अभिनेत्री शिल्पा मास्केले आफूलाई पनि डान्सप्रति रुचि भएकाले सिनेमा ‘इन्टरटेनिङ’ लागेको बताइन् । ‘नेपालको पहिलो डान्स सिनेमा हो । म आफैंले डान्स गर्ने भएर पनि सिनेमा ‘इन्टरटेनिङ’ लाग्यो,’ उनले निर्देशक र कलाकारहरुको प्रशंसामा भनिन्, ‘जसिता र धिरजले नृत्यमा गरेको मिहिनेत देखिएको छ । रेनाशा दिदी राम्रो कोरियोग्राफर हुनुहुन्छ, सिनेमामा पनि त्यो देखिन्छ ।’

अभिनेत्री आना शर्माले सिनेमा हेर्दा आफूले ‘इन्जोय’ गरेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘रेनाशा दिदीले एकदमै सुन्दर ढंगले कथालाई प्रस्तुत गर्नुभएको छ । धिरज र जसिताको त भूमिका र अभिनय दुवै सानदार छ । उनीहरुले नृत्यमा गरेको मिहिनेत देखिन्छ ।’ अर्की अभिनेत्री अञ्जना बराइलीले सिनेमाको कथा र पात्रको भोगाइमा आफूले अपनत्व महसुस गरेको अनुभव सुनाइन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले सिनेमा फरक फ्लेवरमा बनेको धारणा राख्दै रमाइलोसँगै सन्देशमुलक पनि रहेको बताए । उनी सिनेमाको प्रशंसामा भन्छन्, ‘सिन्ेमा हेर्दा निर्देशकदेखि कलाकारसम्मले कतिसम्म मिहिनेत गरेका थिए होलान् भनेर महसुस गर्न सकिन्छ । नयाँ विषयमा सिनेमा बनाउनु आफैंमा ठूलो चुनौती हो । त्यो चुनौती रेनाशाले उठाएकी छन् ।’

प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित र रोमाञ्चित देखिएकी निर्देशक राईले तीन वर्षको मिहिनेत सफल भएको भन्दै खुसी व्यक्त गरिन् । ‘प्रिमियमा जुन खालको प्रतिक्रिया मिल्यो, त्यसले हाम्रो मिहिनेत सफल भएको ठानेकी छु । बजारले अहिले जुन खालको सिनेमा रुचाइरहेको छ, त्योभन्दा हाम्रो सिनेमा भिन्न छ । तर, एकपटक हेरेपछि अरुलाई पनि हेर्न भन्नुहुनेछ,’ उनले विश्वास व्यक्त गरिन् ।

सिनेमाका मुख्य अभिनेता धिरज पनि प्रिमियरमा प्राप्त प्रतिक्रियाले खुशी देखिन्थे । सिनेमा हेर्दा आफैंले गरेको कति डान्स ‘स्टेप’ पत्यार नलागेको उनले सुनाए । उनले भने, ‘मैले सिनेमाका लागि तीन वर्ष दिएँ । सिनेमा हेरिरहँदा मैले यस्तो पनि गरेछु भनेर विश्वास लागिरहेको थिएन । हामीले गरेको मिहिनेत अहिले स्क्रिनमा देख्दा खुसी लागेको छ ।’ जसिताले पनि आफूहरुले गरेको मिहिनेतको प्रशंसा हुँदा सन्तुष्टी मिलेको बताउँछिन् ।

सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । सिनेमाका लागि धिरज र जसिताले एक वर्षभन्दा लामो समय डान्सको तालिम लिएका थिए ।

धिरजले त आर्मीको तालिम पनि झन्डै एक वर्ष लिएका थिए । आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको सिनेमामा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र गीतमा द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ ।