चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार वितरण

चलचित्र पत्रकार संघको सम्मान तथा पुरस्कार वितरण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सात जना चलचित्र पत्रकारहरुलाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, प्रथम रंगीन नेपाली सिनेमाकी अभिनेत्री चैत्य देवी, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

२५ वर्षभन्दा लामो समयदेखि कला पत्रकारितामा सक्रिय रहेको भन्दै शान्तिप्रियलाई ५५ हजार ५ सय ५५ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’, तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’, कुबेर डंगोल र दीपज्योति थापालाई ५१ हजार राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ र सृष्टि पोखरेललाई एक थान ल्यापटपसहितको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ र रवि अधिकारीलाई २५ हजार राशीको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

त्यस्तै, अघिल्लो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा संघका निर्वतमान अध्यक्ष दिनेश सिटौलालाई धन्यवाद पत्र प्रदान गरिँदा मनोज केसी, ज्ञानु राईृलाई कदर पत्र तथा रश्मी थापा र निरज पन्थीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सोही कार्यक्रममा संघले कला पत्रकारितामा ६० वर्ष पूरा गरेका पत्रकारलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यको पनि थालनी गरेको छ । यो भत्ता प्राप्त गर्ने विजयरत्न तुलाधर पहिलो कला पत्रकार बनेका छन् । उनलाई बैशाख र जेठ महिनाको गरी आठ हजार भत्ता प्रदान गरियो । जेष्ठ पत्रकारलाई सुरक्षा भत्ता दिने निर्णय निवर्तमान अध्यक्ष दिनेश सिटौलाको कार्यकालमा गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले सिनेमाको समग्र पाटोलाई पत्रकारिताले समेट्ने भएकाले राज्यदेखि सिनेमाकर्मी सबैले माया गर्नुपर्ने धारणा राखे । उनले भने, ‘सिनेमामा कलाकारको अभिनय कस्तो छ, सिनेमाले के भन्न खोजेको छ, सिनेमा हेर्ने कि नहेर्ने भन्ने धेरै कुरा पत्रकारिताबाट आउने भएकाले सबैले माया गर्नुपर्छ ।’ नेपाली सिनेमालाई विश्वमा नै फरक पहिचान दिलाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष विदुर गिरी, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेता पल शाह, निर्देशक शोभित बस्नेत, निर्माता सुनिल कुमार थापालगायतको उपस्थिति रहेको थियो । संघले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा चलचित्र पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।