निश्चलको ‘दिमाग खराब’ बुढानिलकण्ठ मन्दिरमा मुहूर्त, काभ्रेबाट छायांकन

निश्चलको ‘दिमाग खराब’ बुढानिलकण्ठ मन्दिरमा मुहूर्त, काभ्रेबाट छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘दिमाग खराब’को छायांकन सुरु गरिएको छ । यही सिनेमाबाट निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्किएका हुन् । सोमबार काठमाडौंस्थित बुढानिलकण्ठ मन्दिरमा सिनेमाको मुहूर्त गर्दै उनले काभ्रेबाट छायांकन सुरु गरेका छन् ।

जनता र शक्तिको कथामा बन्ने सिनेमाकको ३५ दिनको छायांकन सेड्युल राखिएको छ । सिनेमा आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउनेछ । आकाश बरालको पटकथा लेखन रहेको सिनेमामा कलाकारको ‘लाइनअप’ बलियो छ । सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिका छन् । श्रीमान निश्चल बस्नेतको निर्देशनमा अभिनेत्री स्वस्तिमाले पहिलो पटक काम गर्न लागेकी हुन् ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने सिनेमामा निमेष श्रेष्ठको सम्पादन, सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । सिनेमाको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । ‘लुट’बाट नेपाली सिनेमामा कथा भन्ने शैली नै बदलेका निश्चलको ‘दिमाग खराब’लाई लिएर दर्शकमा अपेक्षा धेरै छ ।

‘लुट २’ पछि निश्चल निर्देशनमा फर्किन नखोजेका होइनन् । लकडाउन पछाडी उनी सिनेमा ‘जिन्दावाद’ निर्देशनको तयारीमा थिए । ‘दिमाग खराब’ भने निश्चलले आफ्नो दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’ पछि घोषणा गरेका थिए । यो सिनेमा घोषणाको ९ वर्षपछि निर्माण हुन लागेको हो । निर्देशक बस्नेत र अभिनेत्री खड्काले यसअघि आधा दर्जन बढी म्यूजिक भिडियो र सिनेमा ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए ।