बेलायतको आइम्याक्स सिनेवर्ल्डमा ‘गोर्खा वारियर’को प्रिमियर गरिने

बेलायतको आइम्याक्स सिनेवर्ल्डमा ‘गोर्खा वारियर’को प्रिमियर गरिने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्स निर्देशित नेपाली सिनेमा ‘गोर्खा वारियर’को रेडकार्पेट प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा हुने भएको छ । निर्माण टिमले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी सेप्टेम्बर १० मा सिनेमालाई प्रिमियर गर्न लागेको जानकारी दिए ।

सेप्टेम्बरमै सिनेमालाई हङकङ र सिंगापुरमा समेत प्रिमियर गर्न लागिएको निर्माता तथा निर्देशक चाम्सले बताए । सेप्टेम्बरलाई ‘प्रिमियर मन्थ’को रुपमा मनाइने योजना रहेको उनले बताए । लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जनाइएको छ ।

चाम्सले पहिलोपटक आफुले निर्देशन गरेको सिनेमा ‘हँसिया’ लण्डनमा प्रिमियर गर्दै अन्तर्राष्ट्रिय प्रिमियरको ट्रेन्ड बसालेका थिए । उनको पछिल्लो सिनेमा गोर्खा वारियर महंगो बजेटमा बनेको बताइएको छ । सिनेमाले सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाईको कथा भन्छ । सिनेमालाई नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी छ । हलिउड कम्पनीले सिनेमालाई वितरण गर्ने जनाइएको छ ।

सिनेमामा रितेश चाम्सको शीर्ष भूमिका छ । उनी यतिबेला बेलायतमै छन् । यो उनको डेव्यु सिनेमा समेत हो । मंगलबार पत्रकार सम्मेलनमा कलाकारहरु विजय लामा, रेविका गुरुङ लगायत उपस्थित थिए । उक्त कार्यक्रममा १६ पटक सगरमाथा आरोहण गरेका फूर्वा तेञ्जिङ शेर्पालाई सम्मान गरियो । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा सिनेमा निर्माण भएको हो । सिनेमाको नेपाल प्रदर्शन मिति घोषणा गरिको छैन ।

‘विश्व प्रतिष्ठित उक्त हलमा नेपाली सिनेमा प्रिमियर गर्ने मेरो सपना पहिलेदेखिकै हो । नेपाली सिनेमालाई विश्व बजारमा पु¥याउन यसले भूमिका खेल्ने विश्वास छ,’ निर्देशक चाम्सले भने, ‘अब विश्व बजारमा नेपाली सिनेमाको ब्रान्डिङ गर्ने हो भने पैसा खर्च गर्न जरुरी छ । कति दिन हामीले सामुदायिक हलमा सिनेमा देखाउने ?’

गोर्खा वारियरको प्रिमियर गरिने बेलायतको आइम्याक्स सिनेवल्र्डमा हलिउडमा प्रसिद्ध सिनेमा जेम्स बण्ड, मिसन इम्पोसिबलजस्ता चर्चित प्रिमियर भइसकेको छ । ‘नेपाली सिनेमालाई त्यहाँ प्रिमियर गर्नु मेरो २० वर्षअघिको सपना हो । त्यो सपना पूरा गर्ने अवस्थामा आज आइपुगेको छु’ चाम्सले भने ।