‘नीरफूल’मा हामीले भोगेको समयको कथा भेटिनेछ : दयाहाङ राई

‘नीरफूल’मा हामीले भोगेको समयको कथा भेटिनेछ : दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेठ २६ बाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘नीरफूल’ मौलिक स्वादमा निर्माण भएकको अभिनेता दयाहाङ राईले बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले सिनेमा निर्माणको समयमा भोगेका दुःख समेत सुनाए,‘यो सिनेमा खिच्न गणेश हिमाल मुनिको रुवी भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उनले भने, ‘मेहनतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा सिनेमामध्ये एक हुनेछ । मौलिक विषयबस्तुलाई मौलिक ढंगले नै पस्किन खोजिएको सिनेमा हो नीरफूल ।’

यतिबेला उच्च सफलता हाँसिल गरिरहेको सिनेमा जारी सांस्कृतिक सिनेमा भएकाले चलेको बताउँदै राइले भने, ‘मेरा कैयौं सिनेमाले ५१ दिन मनाउँदै व्यबसायिक सफलताको रेकर्ड पनि तोडेका छन् । तथापि बिषयबस्तु र मौलिकताको हिसाबले मलाई जारी जस्तै अत्यन्त मन परेको सिनेमा नीरफूल हो ।’

अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी सिनेमा ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सँधै बाँचिरहने सिनेमामा काम गर्न मन लागेको पनि सुनाए, ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’ उनले भने, ‘यो सिनेमामा हामीले भोगेको समयको कथा भेटिनेछ ।’

कोरोना महामारीको कारण रिलिज रोकिएको सिनेमालाई फूलमान वलले निर्देशन गरेका हुन् । सिनेमामार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले बताए,‘सिनेमामा भुकम्प आउँछ, तर सिनेमा भुकम्पको कथा माथि हैन’, उनले भने, ‘हाम्रो समाज र जीवनमा आउने भुकम्प, करप्टेड सिस्टमले ल्याउने भुकम्प चाहिँ सिनेमामा छ ।’

नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमाका अर्का अभिनेता बुद्धी तामाङले नीरफूलको कथाबस्तु र तामाङहरुको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए । सिनेमा समसामयिक बिषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उनले जिकिर गरे । आफु सिनेमामा सञ्चारकर्मीको भूमिकामा रहेको पनि उनले खुलाए ।

अभिनेत्री शान्ति वाइबाले आफू रंगमञ्चबाट आएको बताउँदै रंगमञ्चबाटै स्थापित दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । उनले नीरफूलबाट अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । जिग्मे छ्योकी घिसिङ आफु यसअघि गायिकाको रुपमा परिचित भएपनि नीरफूलले आफुलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गरिन् ।

रंगकर्मी राजन खतिवडाले आफुलाई सिनेमाको कथा र बिषयबस्तु अत्यन्त मन परेको र सोचेको भन्दा राम्रो पारिश्रमिक ‘नीरफूल’मा पाएको जानकारी गराउँदै भने, ‘निर्देशक फुलमानजीले हरेक साना साना कुरालाई पनि निकै गहिरो रुपमा यसमा प्रस्तुत गर्नु भएको छ ।’ गायक र रँगकर्मीको रुपमा परिचय बनाएका कलाकार मानस राजले आफुलाई गायकको रुपमा चिनेका श्रोता दर्शकले यो चलचित्रमा फरक अबतारमा पाउने बताए ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको सिनेमामा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् । सिनेमामा अभिनेत्री रेखा थापा बिशेष भुमिकामा देखिनेछिन् ।

डोमा सोनाम कार्यकारी निर्माता रहेको सिनेमालाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् ।

सिनेमाको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । सिनेमाको गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।