प्रिमियरमा ‘नाङ्गो गाउँ’लाई राम्रो प्रतिक्रिया (फोटो सहित)

प्रिमियरमा ‘नाङ्गो गाउँ’लाई राम्रो प्रतिक्रिया (फोटो सहित)

द सिनेमा टाइम्स
266
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाद्वारा निर्देशित सिनेमा ‘नाङ्गो गाउँ’लाई प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेको छ । बुधबार साँझ सितापाइलास्थित सीके सिनेमाज् हलमा भएको रेड कार्पेट प्रिमियरमा सिनेमाको कथावस्तु, कलाकारको अभिनय, निर्देशन, गीतसंगीत र छायांकन पक्षले उपस्थित पाहुनाबाट प्रशंसा पायो ।

राजनीतिक विषयवस्तुमा निर्माण भएको सिनेमामा दयाहाङ राई र मिरुना मगरको जोडीका साथै अभिनेता शिशिर वाङ्देलको पनि उपस्थित पाहुनाले तारिफ गरेका थिए । गायक राजेशपायल राईले सिनेमामा समाजमा घटिरहेको घटनालाई चुस्त दुरुस्त पर्दामा उतारिएको भन्दै प्रशंसा गरेका हुन् । ‘सिनेमा अत्यन्त सुन्दर छ, मीठो छ । मैले सोचेको भन्दा धेरै राम्रो बनेको पाएँ । क्लाइमेक्स गजब छ,’ उनले भने ।

यस्तै, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, निर्देशक नरेश पौडेल लगायतले सिनेमाको विषयवस्तु उत्कृष्ट रहेको बताए । सिनेमाले निर्वाचनमा भोट दिनुभन्दा अगाडि जनतालाई सयपटक सोच्न सचेत गराउने उनीहरुको विश्वास छ । अभिनेता तथा मोडल कुन्साङ बम्जनले सिनेमालाई राम्रो कथामा सशक्त बनेको प्रतिक्रिया दिए ।

प्रिमियरमा प्राप्त प्रतिक्रियाले दयाहाङ राई र मिरुना मगर उत्साहित देखिएका थिए । सिनेमाको प्रचारमा नदेखिएकी साम्राज्ञी आरएल शाह प्रिमियरमा भने उपस्थित भएकी थिइन् । हिमाल कडरिया प्रस्तुतकर्ता रहेको सिनेमामा जय श्रेष्ठको लगानी छ भने सिनेमाका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र लामा स्वयंको कथा, पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ ।

सिनेमामा एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ । शिक्षण पेशाबाट राजनीतिमा छिरेका दयाहाङ र राजनीतिलाई व्यवसाय पेशाको रुपमा अंगालेका शिशिरबीचको राजनीतिक दाउपेचमा सिनेमाले केन्द्रित रहेको छ ।

तस्वीर : ज्ञानु राई