द सिनेमा टाइम्स, काठमाडौं । ‘घरज्वाइँ’ र ‘मितज्यू’ फेम्ड निर्माता जनक घर्ती मगरले नयाँ सिनेमा ‘आकाश वर्षा’को निर्माण घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै उनले लभस्टोर सिनेमा ‘आकाश वर्षा’ घोषणा गरेका हुन् । यो उनले निर्माण गर्ने तेस्रो फिचर सिनेमा हो ।
जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको थिम पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको देखिएको छ । बादल, वर्षा र पृष्ठभूमिमा पहाड देखिन्छ । यसले मान्छको जीवनका दुःख, सुख र संघर्ष समेट्ने संकेत गर्छ । विशेषगरी सिमसिम पानीले जिन्दगीको एक खुसीको पनि संकेत गर्छ । निर्माता जनक भन्छन्, ‘हाम्रो यो सिनेमा विशुद्ध लभस्टोरी जनरामा बन्नेछ ।’
यो सिनेमालाई सुदीप भजुले निर्देशन गर्नेछन् । सिनेमाको कलाकार र प्राविधिक केही पनि जानकारी गराइएको छैन् । पछिल्लो समय लभस्टोरी सिनेमा कमै मात्रै बनिरहेका बेला जनकले यो जनराको सिनेमा बनाउने भएका हुन् । उनले यसुअघि दुईवटा सिनेमा सोसल ड्रामा निर्माण गरेका थिए ।
निर्माता जनक स्वयंको परिकल्पना रहेको सिनेमाका लेखक अमीर मगर रहेका छन् । यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।


प्रतिक्रिया