प्रिमियर शोमा अरुण र सिमरनको ‘गौँथली’लाई उत्कृष्ट प्रतिक्रिया

प्रिमियर शोमा अरुण र सिमरनको ‘गौँथली’लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १ गते शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो सम्पन्न भएको छ । ७ सयभन्दा बढीको उपस्थिति रहेको प्रिमियरमा सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाएको हो । सिनेमा हेरेपछि विशेषगरी महिला दर्शकहरू गहभरि आँसु लिएर हलबाट निस्किएका थिए ।

चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सिनेमा हेर्दा आँसु आएको बताए । उनले भने, ‘सिनेमामा हुनुपर्ने सबै गुण छ । परर्फेक्ट छ सिनेमा । धेरै दृश्यले मेरो मन छोयो । हेर्दा आँसु नै आयो । कलाकारको काम एकदमै राम्रो छ । अरुण र सिम्रनले यति राम्रो काम गरेका छन् कि अब उनीहरूलाई फुर्सद नै हुँदैन । क्यामेरा वर्कदेखि लाइटिङ साह्रै राम्रो छ ।’

अर्का कलाकार प्रकाश घिमिरेले पनि सिनेमाको प्रशंसा गरे । ‘गौँथली’का कलाकार समेत रहेका उनले भने, ‘आम दर्शक भएर हेर्दा सिनेमामा मलाई मदेखि नै रिस उठ्यो । सिनेमामा अरुणले निभाएको पात्रजस्तै छ मेरो छोरा पनि । त्यो हिसाबले सिनेमाले मलाई अझ छोयो । यति राम्रो सिनेमा सायद दर्शकले पनि मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’

सञ्चारकर्मी प्रकाश सुवेदी (रजतपट अंकल)ले ‘गौँथली’लाई पूर्ण सिनेमाको संज्ञा दिए । उनले भने, ‘केस्रा–केस्रा केलाउने हो भने धेरै कमजोरी भेटिन सक्छन् । तथापि, यो पूर्ण सिनेमा किन भन्दैछु भने यसमा प्रेम छ, हास्य छ, खुसी छ, रोदन छ । साह्रै राम्रो लाग्यो मलाई सिनेमा । कति दृश्य त मैले हेर्न नसकेर अनुहार छोपेको थिएँ । सिनेमामा मनोरञ्जनसँगै गहिरो सन्देश पनि छ ।’

प्रिमियरमा अभिनेता तथा निर्देशक आकाश अधिकारी, अभिनेत्री न्यान्सी खड्का, निर्देशक मिलन चाम्स, निर्माता रोहित अधिकारी, गायिका शान्तिश्री परियार, अभिनेताहरू जितु नेपाल, गजित विष्ट, गौरव पहारीलगायतको पनि उपस्थिति रहेको थियो । उनीहरूले सिनेमाको कथावस्तुदेखि कलाकारहरूको अभिनयसम्मको प्रशंसा गर्दै दर्शकलाई हेर्न आग्रह गरेका थिए ।

डा. कपिल रिजालको निर्देशनमा निर्माण भएको सिनेमामा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारको अभिनय देख्न सकिनेछ । सिनेमाले बाल विवाहको विषयलाई उठाउँदै श्रीमान्‌-श्रीमतीबीचको सम्बन्धको कथा पेस गरेको छ ।