द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री तथा सिनेमा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएकी निरौला हाल सोही अस्पतालमा उपचाररत छिन् । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको जनाइएको छ ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत निरौलाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सिनेमा छायांकनकै क्रममा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको बताएका छन् । सिनेमा ‘छ माया छपक्कै २’को छायांकन भइरहेका बेला दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको पत्ता लागेको उनले बताएका छन् ।
गिरीका अनुसार अचानक देखिएको स्वास्थ्य समस्यापछि तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको थियो । उपचारका लागि भारत जान विभिन्न सुझाव आए पनि अन्ततः नेपालमै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको उनले बताएका छन् ।
गिरीले फेसबुकमा लेखेका छन्, ‘यो साता हाम्रो लागि निकै चुनौतीपूर्ण र कठिन समय रह्यो । सुटिङको बीचमा दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो, त्यसपछि हामी अन्योलमा पर्यौँ । तुरुन्त शल्यक्रिया गर्नुपर्ने भयो । भारत जाने सल्लाह पाइयो, तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर बसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो ।’
उनले भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र निरौला आईसीयूबाट जनरल वार्डमा सारिएर स्वास्थ्यलाभ गरिरहेको जानकारी दिएका छन् । गिरीले निरौलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने दर्शक, शुभचिन्तक तथा उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन् ।


प्रतिक्रिया