२५ वर्षपछि ‘गौँथली’को पुनरागमन, किन फेरि भन्नुपर्‍यो यही कथा ?

२५ वर्षपछि ‘गौँथली’को पुनरागमन, किन फेरि भन्नुपर्‍यो यही कथा ?

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । केही कथाहरू समयसँगै पुराना हुँदैनन्, बरु बदलिँदो समाजसँगै तिनको अर्थ झन् गहिरिँदै जान्छ । यस्तै एउटा कथा हो ‘गौँथली’ । २५ वर्षअघि निर्माण भएको यही नामको सिनेमा अहिले नयाँ पुस्तालाई लक्षित गर्दै नयाँ शैली र प्रविधिसहित फेरि दर्शकमाझ आउँदैछ ।

निर्देशक डा. कपिल रिजालले आफ्ना बुबा डा. भोला रिजालले निर्माण गरेको ‘गौँथली’ लाई अहिलेको परिवेशअनुसार पुनः निर्माण गरेका छन् । पुरानो कथालाई दोहोर्‍याउनेभन्दा पनि त्यसलाई अहिलेको समाज, प्रविधि र युवापुस्ताको सोचसँग जोडेर प्रस्तुत गरिएको उनको भनाइ छ ।

सिनेमाको नाम ‘गौँथली’ नै किन राखियो भन्ने प्रश्नमा निर्देशक रिजालले यसको भावनात्मक सम्बन्ध घर र पात्रसँग रहेको बताए । ‘दिनभर जता डुले पनि गौँथली चरा रातमा जसरी पनि घरमा आउँछ । गौँथली घर छोडेर कहिल्यै बाहिर जाँदैन । उसको घर हुन्छ नै,’ उनले भने, ‘हाम्रो सिनेमाको पात्र पनि यस्तै हो । घर बनाउनका लागि जे पनि गर्न तयार छ । हरेक परिस्थितिसँग जुध्न तयार छ । गौँथली चरामा हुने नम्रता नै यो सिनेमाका पात्रहरूमा दर्शकले पाउनुहुनेछ ।’

उनका अनुसार २५ वर्षअघिको कथालाई अहिले फेरि पर्दामा ल्याउनुको कारण यसको विषय अझै समाजमा जीवित हुनु हो । ‘पुरानो सब्जेक्टलाई नयाँ टेक्निकमा प्रस्तुत गरेका छौँ । अहिलेको परिवेश र युवापुस्तालाई ध्यानमा राखेर सिनेमा बनाएका हौँ,’ उनले बताए ।

नेपाली सिनेमाको बजार विस्तारका लागि नेपाली माटोसँग जोडिएका कथा आवश्यक रहेको निर्देशक रिजालको धारणा छ । ‘नेपाली दर्शक नेपाली माटोसँग मिलेको जुनसुकै कथासँग जोडिन्छन् । नेपाली सिनेमालाई ग्लोबल मार्केटमा लैजाने हो भने पनि आफ्नै अर्गानिक कथा पर्दामा ल्याउनुपर्छ,’ उनले भने ।

‘गौँथली’ले केवल पारिवारिक कथा मात्र नभई समाजमा रहेका केही संवेदनशील विषयलाई पनि उठाएको छ । सिनेमामा फरक क्षमता भएका व्यक्तिप्रतिको व्यवहार र महिलामाथि हुने सामाजिक विभेदलाई प्रस्तुत गरिएको निर्देशक रिजाल बताउँछन् ।

‘अटिजम भएका एउटा पात्रसँग कसरी व्यवहार गर्नुपर्छ, उसलाई कसरी बुझ्नुपर्छ भन्ने कुरा फिल्ममा देखाएका छौँ । ह्युमन टचबाट कसरी उक्त पात्रलाई सही दिशातर्फ लैजान सकिन्छ भन्ने पक्षलाई प्रस्तुत गरेका छौँ,’ उनले भने ।

सिनेमाले महिलाका दबिएका इच्छा र सपनाको विषयलाई पनि उठाएको निर्दशक रिजालको दाबी छ । रिजालका अनुसार समाजमा अझै पनि छोरीको शिक्षा र स्वतन्त्रतामाथि प्रश्न उठाउने सोच छ । ‘छोरीले पढेर के गर्छे, काम गरेर के गर्छेस् भन्ने सोच अझै छ । छोरीहरूको इच्छा र सपनामाथि हुने दबाबलाई हामीले सिनेमामा देखाउन खोजेका हौँ,’ उनले बताए ।

सिनेमाकी मुख्य अभिनेत्री सिमरन खड्काले ‘गौँथली’ले आफूलाई अभिनयसँगै धेरै कुरा सिकाएको बताइन् । सिनेमाको कथा र आफ्नो पात्र दुवै फरक अनुभव भएको उनको भनाइ छ । आफ्नो पात्रबारे उनले भनिन्, ‘मेरो चरित्र निकै संघर्षशील, जिम्मेवार र गहिरो सोच भएको छ । मैले व्यक्तिगत रूपमा नभोगेको अनुभवलाई पात्रमार्फत बुझ्ने मौका पाएँ । सुरुमा स्क्रिप्ट पढ्दा यस्तो कथा फेरि पाउँदिन कि भन्ने महसुस भएको थियो ।’

मुख्य अभिनेता अरुण क्षेत्रीका लागि भने अटिजम भएको पात्रलाई पर्दामा उतार्नु सबैभन्दा ठूलो चुनौती थियो । उनले यही सिनेमामार्फत अटिजमबारे धेरै कुरा बुझ्ने अवसर पाएको बताए । ‘सुरुमा अटिजमबारे मेरो बुझाइ धेरै सीमित थियो । यही सिनेमामार्फत मैले त्यसबारे धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भने ।

पात्र निर्माणको क्रममा धेरै अध्ययन र छलफल गर्नुपरेको उनको अनुभव छ । ‘यो पात्र न धेरै लाउड हुन मिल्थ्यो, न धेरै लो । गलत तरिकाले प्रस्तुत भयो भने त्यो समुदायको भावनामा असर पर्न सक्थ्यो । त्यसैले धेरै मेहनत गरेर पात्र तयार गरेका छौँ,’ उनले सुनाए ।

कलाकार लक्ष्मीनाथ तिमल्सेनाले पनि ‘गौँथली’मा काम गर्नु आफ्ना लागि विशेष अनुभव भएको बताए । ‘हरेक सिनेमामा फरक अनुभव हुन्छ । पहिले हेरेको सिनेमामा काम गर्न पाउनु खुसीको कुरा हो,’ उनले सुनाए ।

२५ वर्षअघि भनिएको कथा आज फेरि किन आवश्यक भयो भन्ने प्रश्नको उत्तर ‘गौँथली’ले खोज्ने प्रयास गरेको टिमको दाबी छ । घर, सम्बन्ध, संघर्ष, फरक क्षमताप्रतिको बुझाइ र समाजका पुराना सोचलाई नयाँ पुस्तासामु प्रस्तुत गर्दै सिनेमा साउन १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

डाक्टर भोला रिजालको कथामा निर्माण भएको सिनेमामा सिम्रन, अरुण र लक्ष्मीनाथसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।