काजलको आरोपप्रति निर्देशक दीपकप्रसाद आचार्यको जवाफ : ‘हाम्रो लागि एउटै समुदाय मानव समुदाय हो’

काजलको आरोपप्रति निर्देशक दीपकप्रसाद आचार्यको जवाफ : ‘हाम्रो लागि एउटै समुदाय मानव समुदाय हो’

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री काजल कर्णले सिनेमा ‘चिरञ्जीवी भव:’को सेटमा आफूमाथि जातीय विभेद र दुर्व्यवहार भएको आरोप लगाएपछि निर्देशक दीपकप्रसाद आचार्यले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आचार्यले काजलले लगाएका आरोपको खण्डन गर्दै भनेका छन् ‘हाम्रो लागि संसारमा एउटै समुदाय हुन्छ- मानव समुदाय । हरेक मानवलाई हामी समान व्यवहार गर्छौं।’ उनले सेटमा कुनै प्राविधिकबाट दुर्व्यवहार भएको भए त्यसबारे आफूलाई जानकारी नगराइएको उल्लेख गरेका छन उनले लेखेमा छन् ‘यदि कसैले त्यस्तो व्यवहार गरेको पुष्टि भयो भने एक सेकेन्ड पनि ढिला नगरी कारबाही हुनेछ ।’

काजलले गरेको सुटिङ रोकिएको प्रसंगबारे निर्देशक आचार्यले कलिङ टाइम ७:३० बजे थियो । करिब ७० सदस्यीय युनिट लामो समयसम्म कुरेर बसेपछि सहायक निर्देशकमार्फत उहाँ नआउने जानकारी आयो र सुटिङ अगाडि बढाइएको दाबी गरेका छन् ।

त्यस्तै काजलले लगाएको जातीय विभेदको आरोपको अस्वीकार गर्दै उनले भनेका छन् ‘उहाँ मधेसी मूलको हुनुहुँदो रहेछ भन्ने कुरा मैले उहाँको स्टाटस पढेपछि मात्र थाहा पाएँ। हाम्रो लागि कुनै जातीय वा क्षेत्रीय कलाकार हुँदैन,’ उल्लेख गरेका छन् ।

काजललाई स्क्रिप्टभन्दा बाहिरका दृश्य मात्र गराइएको भन्ने आरोप पनि सत्य नभएको दाबी गर्दै आचार्यले त्यससम्बन्धी भिडियो फुटेज सुरक्षित रहेको बताएका छन् । यसबारे उनले लेखेका छन् ‘केही विषयमा उहाँलाई मिसअन्डरस्ट्यान्डिङ भएको हुन सक्छ। आवश्यक परे हामी छलफल गर्न तयार छौँ ।’

निर्देशक आचार्यले स्टाटसको अन्त्यमा काजल कर्णको कलाकारिता यात्राको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली सिनेमा उद्योगप्रति सकारात्मक वातावरण बनाउन सबैसँग आग्रह गरेका छन् ।