द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री काजल कर्णले नेपाली सिनेमा ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा आफूले जातीय तथा क्षेत्रीय विभेद, मानसिक दुर्व्यवहार तथा पारिश्रमिकसम्बन्धी अन्याय भोग्नुपरेको आरोप लगाएकी छन् । उनले शुक्रबार फेसबुकमा लामो स्टाटस सार्वजनिक गर्दै सिनेमाको सेटमा आफूले भोगेको भन्दै विभिन्न घटनाबारे खुलाएकी हुन् ।
काजलका अनुसार ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतमा अभिनय गरेपछि ‘चिरञ्जिवी भवः’ मा काम गर्ने अवसर पाउँदा आफू निकै उत्साहित थिइन् । तर छायांकन सुरु भएदेखि नै आफूलाई सम्मानजनक व्यवहार नगरिएको र मधेशी पहिचानकै आधारमा विभेद गरिएको उनको दाबी छ ।
स्टाटसमा उनले लेखेकी छन्, ‘सिनेमाको सेटभित्र छिरेपछि मैले जुन संसार देखेँ, त्यसले मेरो कलाकारिताप्रतिको सम्मान मात्र होइन, मेरो आत्मसम्मान र मधेशी पहिचानमाथि यति क्रूर प्रहार गर्यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु।’
उनले डिजाइनरले नाप लिए पनि आफ्नै लुगा व्यवस्था गर्न लगाइएको, सुटिङका लागि गाडी पठाउने भनिए पनि अन्तिम समयमा आफैं पुग्न भनिएको तथा इटहरीमा छायांकनका क्रममा मेकअप रुमदेखि नै अपमानजनक व्यवहार गरिएको आरोप लगाएकी छन् ।
काजलका अनुसार मेकअपका क्रममा आफूलाई ‘तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई-गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ’ भनिएको थियो । त्यस्तै, अर्को व्यक्तिले ‘तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि’ र ‘ओई मधेसेनी, तिम्रो तिर त भैँसी र गाईलाई कसरी बोलाउँछन् ? बोलाएर देखाऊ त’ भन्दै आफ्नो पहिचानको उपहास गरेको दाबी पनि उनले गरेकी छन् ।
उनले स्क्रिप्टमा नभएका दृश्य जबर्जस्ती गराइएको, आफूलाई कलाकारभन्दा मजदुरझैँ फोहोर उठाउने र कुचो लगाउने दृश्यमा प्रयोग गरिएको तथा बाँकी पारिश्रमिक माग्दा बेवास्ता गरिएको आरोपसमेत लगाएकी छन् । पछि इटहरीमा बाँकी छायांकनका लागि बोलाइए पनि त्यहाँ पुग्दा आफ्नो स्थानमा अर्कै कलाकारलाई राखिएको बताएकी छन् ।
कुनै जानकारी नदिई आफूलाई सिनेमाबाट हटाइएको र पारिश्रमिकसमेत पूर्ण रूपमा नदिइएको उनको दाबी छ । स्टाटसको अन्त्यमा उनले प्रश्न गर्दै लेखेकी छन्, ‘के मधेशी हुनु नै हाम्रो गल्ती हो ? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो ?’ साथै उनले ‘एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन । मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन,’ भन्दै आफ्नो संघर्ष जारी रहने उल्लेख गरेकी छन् ।
समाचार तयार पार्दासम्म अभिनेत्री काजल कर्णले लगाएका आरोपबारे सिनेमा ‘चिरञ्जिवी भवः’का निर्देशक, निर्माण टिम तथा आरोप लागेका अन्य पक्षको आधिकारिक प्रतिक्रिया आएको छैन् ।


प्रतिक्रिया