भदौ २६ गते रिलिज हुने ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

भदौ २६ गते रिलिज हुने ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको ८ वर्षपछिको निर्देशकीय कमब्याक सिनेमा ‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक भएको छ । तीजको छेको पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको सार्वजनिक पोस्टरमा अभिनेता दिल श्रेष्ठलाई केन्द्रमा राखिएको छ । पोस्टरमा विवाहअघि हल्दी कार्यक्रम भइरहेको देख्न सकिन्छ ।

दिललाई लक्ष्मी गिरी र संगम भण्डारीले हल्दी लगाइरहेका छन् भने ह्विलचेयरमा बसेका मदनकृष्ण श्रेष्ठ प्रफुल्ल मुद्रामा दिललाई हेरिरहेका देखिन्छन् । सोही पोस्टरमा सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि देखिएका छन् । सृष्टि र नीतिको सिउँदोमा सिन्दुर देख्न सकिन्छ । नम्रता भने हातमा बुके लिएर उभिएकी छन् । पोस्टरले सिनेमा पारिवारिक कथामा निर्माण भएको स्पष्ट संकेत गर्छ ।

दिया एण्ड अमु फिल्मस्‌को ब्यानरमा निर्माण भएको सिनेमामा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, विनोद पौडेल, सुनिता श्रेष्ठललगायतको अभिनय रहेको छ । ‘पर्खि राख है’ र ‘हिरो रिर्टन्स’ जस्ता सिनेमामा अभिनय गरेका दिलको यो ६ वर्षपछिको कमब्याक हो ।

रंग पत्रकार ध्रुव लम्सालको लेखन रहेको सिनेमामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्मातामा छन् । सिनेमामा सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । सिनेमाको संयोजन रंग पत्रकार राजन घिमिरेले गरेका हुन् । यो सिनेमाले प्रेमकथाको माध्यमबाट पारिवारिक सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गर्ने जनाइएको छ ।