संसदमा पुग्यो ‘चिरञ्जीवी भवः’ विवाद, सांसद निनुकुमारी कर्णले गरिन् छानबिनको माग

संसदमा पुग्यो ‘चिरञ्जीवी भवः’ विवाद, सांसद निनुकुमारी कर्णले गरिन् छानबिनको माग

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘चिरञ्जीवी भवः’को छायांकनका क्रममा अभिनेत्री काजल कर्णमाथि दुर्व्यवहार भएको भन्दै उठेको विवाद प्रतिनिधिसभासम्म पुगेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद निनु कुमारी कर्णले उक्त घटनाप्रति सरकार र सदनको ध्यानाकर्षण गराउँदै छानबिनको माग गरेकी हुन् ।

विशेष समय लिएर बोल्दै सांसद कर्णले अभिनेत्री काजल कर्णले फेसबुकमार्फत न्याय मागिरहेको उल्लेख गर्दै आफूले उनीसँग टेलिफोनमा पनि कुराकानी गरेको बताइन् । ‘सभामुख महोदय, एउटा मधेशकी छोरी अभिनेत्रीले न्याय माग्दै फेसबुक स्टाटस लेखिरहेकी छिन् । मेरो हिजो उहाँसँग फोनमा कुरा पनि भयो,’ उनले भनिन् ।

सांसद कर्णले ३५० भन्दा बढी मैथिली, भोजपुरी र नेपाली म्युजिक भिडियो तथा सिनेमामा अभिनय गरिसकेकी काजल कर्णमाथि सिनेमा ‘चिरञ्जीवी भवः’को छायांकनका क्रममा ‘मधेशनी’ भन्दै दुर्व्यवहार गरिएको आरोप गम्भीर भएको बताइन् ।

‘मधेशी लगायत पिछडिएको समुदाय कहिलेसम्म विभेदको पीडा भोग्ने ? अपमानजनक व्यवहारको असहनीय पीडाका कारण आँसुका थोपाहरू फेरि आत्मदाहको कथा नबनोस्,’ भन्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरिन् ।

सांसद कर्णले ‘काजल कर्णको अपमान समग्र मधेश र मिथिलाका छोरी-चेलीको अपमान हो,’ भन्दै घटनामा संलग्न भएको आरोप लागेका पक्षमाथि आवश्यक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

सिनेमा ‘चिरञ्जीवी भवः’को सेटमा आफूमाथि जातीय विभेद र दुर्व्यवहार भएको आरोप अभिनेत्री काजल कर्णले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । उक्त आरोपलाई निर्देशक दीपकप्रसाद आचार्यले अस्वीकार गर्दै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । त्यसपछि दुवै पक्षबीच सामाजिक सञ्जालमार्फत आरोप-प्रत्यारोप जारी छ ।