द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको सिनेमा ‘मास्टर्नी’को प्रमोसनका लागि गायक दुर्गेश थापाले गीत तयार गरेका छन् । प्रियंका र गायक दुर्गेशबीच सुमधुर सम्बन्ध छ । चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’पछि उनीहरू एकअर्कासँग अझ नजिक भएका हुन् । उनीहरूको सम्बन्ध यति मजबुत बनेको छ कि प्रियंकालाई दुर्गेशले एउटा गीत नै उपहार स्वरूप दिएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत सार्वजनिक गरियो । गीतमा दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ भने उनलाई गायनमा बबिना किरातीले साथ दिएकी छन् । गीतको भिडियोमा दुर्गेशसहित प्रियंका कार्की, आयुष्मान देशराज जोशी र आर्यन सिग्देल देखिएका छन् । गीतको भिडियोमा प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।
अभिनेत्री प्रियंका कार्कीका अनुसार दुर्गेशले अडियो र भिडियो दुवै आफ्नै खर्चमा तयार पारेका हुन् । उनले भनिन्, ‘सिनेमाको यो गीत दुर्गेशजीले मलाई कोसेली स्वरूप दिनुभएको हो । यो पैसाबिनाको साटासाट हो । अडियो र भिडियो दुवै उहाँ आफैंले तयार गर्नुभएको हो । सिनेमाको देशव्यापी कन्टर्समा पनि उहाँ आउँदै हुनुहुन्छ । त्यसमा पनि पैसा लिनुभएको छैन् । यो मेरो लागि ठूलो कुरा हो ।’
आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउने सिनेमामा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, विशाल पहारी, प्रमोद अग्रहरी, सिम्रन खड्का, अनुप विक्रम शाहीलगायतका कलाकारको अभिनय रहेको छ । शुभेन्द्र घोषको निर्देशनमा निर्माण भएको सिनेमालाई प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले निर्माण गरेका हुन् । यो सिनेमाको कार्यकारी निर्मातामा निर्देशक सिमोस सुनुवार र सुरक्षा सिंह मल्होत्रा छन् ।


प्रतिक्रिया