द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने सिनेमा ‘आशा’को छायांकन सुरू भएको छ । एक महिनाको सेड्युल लिएर हिजो बुधबार काठमाडौंबाट सिनेमाको छायांकन थालिएको हो । केही दिनपछि काभ्रेको नमोबुद्ध नगरपालिका र धुलिखेल आसपासका क्षेत्रमा बाँकी छायांकन हुने सिनेमाकी निर्मात्री शर्मिला थापाले जानकारी दिइन् ।
‘हामी योजना अनुसार नै छायांकनमा निस्किएका हौँ । साउन महिनाभरमा सिनेमाको छायांकन सक्ने लक्ष्य राखेका छौँ । हामी नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा अब्बल बनाएर दर्शकमाझ ल्याउने छौँ,’ उनले भनिन् । उनका अनुसार सिनेमा एउटा परिवारको कथामा बन्नेछ । सिनेमाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने उनले बताइन् ।
राजीव गुरुङको निर्देशनमा निर्माण हुने सिनेमामा महेश र अञ्जनासहित शुशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, चिराग श्रेष्ठ, काश्वी भण्डारी, कविता रेग्मीलगायतको अभिनय रहनेछ । राजीव गुरुङको लेखन तथा रामकुमार श्रेष्ठको सह-लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको डीओपी, युग भुसाल र समीर खरेलको संगीत तथा किशोर आचार्यको साउण्ड डिजाइन रहनेछ ।
निर्देशक गुरुङ ‘आशा’बाट तीन वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले ‘ह्यासट्याग माया’ निर्देशन गरेका थिए । तर, छायांकनकै क्रममा अभिनेता सारुक ताम्राकारको निधन भएपछि सिनेमा निर्माण हुन सकेको थिएन ।
त्यसपछि सारुकले सिनेमामा अभिनय गरेका दृश्य राखेर निर्देशक गुरुङले एउटा म्युजिक भिडियो तयार पारेर रिलिज गरेका थिए । त्यो सिनेमाको निर्माण पुरा नुहँदा उनलाई आर्थिक रुपमा ठुलो क्षति भएको थियो । ती सवै पिडा भुलेर उनले सिनेमा ‘आशा’को निर्माण प्रारम्भ गरेका हुन् । यो सिनेमा आगामी माघ १ गते माघे संक्रान्तिमा देशव्यापी प्रदर्शनमा आउनेछ ।


प्रतिक्रिया