निखिलदेखि विजय लामासम्म ‘स्पार्क एड्भेन्चर २०२३’मा सहभागी

निखिलदेखि विजय लामासम्म ‘स्पार्क एड्भेन्चर २०२३’मा सहभागी

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – स्पार्क कारले ‘स्पार्क एड्भेन्चर २०२३’ अन्तर्गत रामेछाप र दोलखाको सीमावर्ती पर्यटकीय क्षेत्र शैलुङमा आयोजना गर्न लागेको ‘वाइल्ड स्टे विथ चौँरी’मा कलाकार, प्रशासनिक एवं सुरक्षा निकायका विशिष्ट अधिकारीहरु सहभागी हुने भएका छन् ।

कार्यक्रम संयोजक अमरदीप भट्टराईले यो एड्भेन्चरमा दुईसय बढी सहभागी रहने जानकारी दिए । असोजको ११ गतेदेखि १३ गतेसम्म हुने ‘स्पार्क एड्भेन्चर’मा क्याप्टेन तथा अभिनेता विजय लामा, एक्सन स्टार निखिल उप्रेती, हाँस्य कलाकार सन्दीप क्षेत्री, लोकगायक प्रेमराजा महत, अभिनेता तथा गायक यश कुमार, मोडल गरिमा शर्मा, लेखक बुद्धि सागर, डा रन्जित बराल, कमेडियन कैलास कार्की आदिको सहभागिता रहनेछ ।

काठमाडौंदेखि असोज ११ गते शैलुङको यात्रा सुरु हुनेछ । असोज १२ गते चौंरी गोठ र सैलुङलाई ‘एक्सप्लोर’ गर्ने आयोजकको तयारी छ । यो कार्यक्रममा आन्तरिक पर्यटनको खोजी गर्ने, चौंरी गाईसँग जङ्गलमा रात बिताउने, स्थानीय कला, भेषभुषा तथा संस्कृतिको प्रवद्र्धन गर्ने र रमणीय ग्रामीण गन्तव्यहरुको खोजी गरिने जनाइएको छ ।

लमजुङको भुजुङ गाउँमा भिरमौरीको शिकार गरेर अघिल्लो बर्षबाट स्पार्क एड्भेन्चर सुरु गरिएको थियो ।