‘बलिदान’मा विराजको माग, नेपाली सिनेमाले भोजपुरी दर्शक तान्ने मौका

‘बलिदान’मा विराजको माग, नेपाली सिनेमाले भोजपुरी दर्शक तान्ने मौका

दिनेश सिटौला
2.9k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिग बजेट सिनेमाका लागि परिचित निर्माता सन्तोष सेनले लक्ष्मी पूजाको दिन आफ्नो ‘प्रेम गीत-३’ पछिको मेगा ड्रिमप्रोजेक्ट ‘बलिदान’को टिजर सार्वजनिक गरे। सिनेमाका प्रमूख कलाकारहरु फाइनल गर्ने क्रममै टिजर रिलिज भएपछि नेपाली सिनेमाका फ्यानहरुले ‘बलिदान’ विभिन्न कलाकारहरु हुनुपर्ने भन्दै अभियान जस्तो नै चलाए। उनीहरुले सिनेमामा सौगात मल्ल, विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल आदि लगायतका कलाकारहरु हुनुपर्ने माग गरे।

टिजर रिलिज लगत्तै सामाजिक संजालहरुमा दर्शकहरुबाट आएको यस किसिमको हौसलाले पुलकित निर्माता सेन सौगात मल्ललाई अनुबन्धित गरे। यसको खुशीयाली सामाजिक संजालमा दर्शकहरुले राम्रैसँग व्यक्त गरे ।घेरै दर्शकहरुले सौगातसँगै अर्का एक्सन सुपरस्टार अभिनेता विराज भट्ट पनि सिनेमामा हुनुपर्ने बताइरहेका छन्।

नेपाली सिनेमामा रियल एक्सन हिरोको छवि बनाएरै सुपरस्टार बनेका विराज भट्ट हाल नेपालको छिमेकी देश भारतको भोजपुरी सिनेउद्योगमा व्यस्त छन्। केही समय अघी सम्म उनको व्यस्तता सिङ्गल सिफ्टमा होइन डबल सिफ्टमा हुने गरेको थियो ।

त्यहाँ निरहुवा, पवन कल्याण, खेशरी लाल, मनोज त्रिपाठी, रवीकिशन जस्ता नामी कलाकारको बोलबाला रहेकोमा विराज उनीहरुको हाराहारीकै ‘डिमान्डेड’ अभिनेता हुन्। उनले त्यहाँ हासिल गरेको सफलताले भोजपुरी भाषीमाझका उनी अत्याधिक लोकप्रिय छन्। विराज त्यहाँ गएपछि एक्सन प्याटर्न चेन्ज भएको बताइन्छ।

त्यस्तै भोजपुरी सिनेमामा नायकसँगै गायक हुनुलाई सुनमा सुगन्ध मानिन्छ। तर भट्टले त्यो मानक भत्काइदिए र आफूलाई रियल एक्सन गर्ने हिरोको रुपममा स्थापित त गराएका छन् नै त्योसँगै गायक नहुनुले नायकको लोभलाग्दो लोकप्रियता कमाउन कुनै फरक पार्दैन भन्ने कुरालाई स्थापित गराइसकेका छन्। उनको प्रवेशले थुप्रै नेपाली प्राविधिक र कलाकारले भोजपुरी सिनेमामा सहज बाटो बनाएको बताइन्छ ।

भोजपुरी नेपालको मध्य तराई क्षेत्र तथा भारतका बिहार लगायतका राज्यहरुमा ठूलो संख्यामा बोलिन्छ। त्यसैले विराजको लोकप्रियता सीमा वारी र पारी दुबैतीर छ । सन्तोषको ‘बलिदान’ले तराई क्षेत्रमा रहेको दुषित राजनीतिक खेल र त्यसले जनतालाई पारेको प्रभावको कथा पेस गर्छ। सिनेमाको कथावस्तुका कारण नै विराज उपयुक्त हुन्छन् भन्ने दर्शकको विश्वासका कारण सिनेमामा उनलाई पनि लिनुपर्छ भनेर माग उठेको हो ।

यो मागलाई स्वयं निर्माता सेनले पनि सकारात्मक हिसाबले लिएका छन् । ‘अहिले नै विराज भट्टको सम्भावनालाई नकार्न चाहिँ सकिँदैन । तर, वास्तविक मुद्धामा सिनेमा बन्न लागेकाले स्क्रिप्ट पूर्ण रुपले तयार भएपछि मात्र मुख्य भूमिकाका लागि सोच्ने छौं । सिनेमाको विषय र चरित्रले उहाँलाई कति माग्छ भन्ने कुरा हो । तर, दर्शक र कन्टेन्ट दुवैलाई न्याय हुने गरि चरित्र छनोट गर्नेछौं,’ उनले भनेका छन् ।

त्यसो त यी दुईबीच राम्रो सम्बन्ध छ।यो सम्बन्ध सहकार्यमा परिणत हुने आशा गर्नसकिन्छ, सिनेमामा विराजको प्रवेशले नेपाली सिनेमा खासै नचल्ने तराई क्षेत्रका र भोजपुरी क्षेत्रका बजारमा प्रवेश सहज हुनसक्छ। यसको प्रत्यक्ष फाइदा निर्मातालाई हुने पक्का छ।

सन्तोष सेनको निर्देशन रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द र प्रेम पुरी रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा लेखक दर्शन जीको लेखन रहने सिनेमाको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहनेछन् ।