‘गोर्खा वारियर’को राजधानीमा भव्य रेडकार्पेट प्रियिमर, नेतादेखि सेलिब्रेटीको घुँइचो

‘गोर्खा वारियर’को राजधानीमा भव्य रेडकार्पेट प्रियिमर, नेतादेखि सेलिब्रेटीको घुँइचो

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले 'गोर्खा वारियर' मनछुने बनेको बताउँदै नेपालको इतिहासको एउटा कालखण्डलाई सम्झाउने बताए ।

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मिलन चाम्सको निर्देशित सिनेमा ‘गोर्खा वारियर’को बुधबार राजधानीमा भव्य रेडकार्पेट प्रियिमर शोको आयोजना गरिएको छ । यसअघि भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित मानिने ‘आइम्याक्स सिनेवल्र्ड’मा सिनेमाको प्रिमियर गरिएको थियो ।

यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली सिनेमा हो । त्यसबेला ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत सिनेमालाई शुभकामना दिएका थिए । बेलायतपछि निर्देशक चाम्सले नेपालमा मात्र दुई ठाउँमा प्रिमियर गरिसकेका छन् । फागुन ५ गते धरान, फागुन ७ गते पोखरामा प्रिमियर गरिएको थियो ।

बुधबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर आयोजना गरिएको प्रिमियरलाई विशेष बनाउन निर्देशक चाम्सले कुनै कसर बाँकी छाडेका थिएनन् । यो शैलीको भव्यता र तामझाममा नेपालमै पहिलोपटक प्रिमियर शोको आयोजना गरिएको हो । प्रिमियरमा शीर्षस्थ नेतादेखि विभिन्न देशका राजदूतहरुसम्मको उपस्थिति रहेको थियो ।

सिनेमा हेरिसकेपछि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिनेमा मनछुने बनेको बताउँदै नेपालको इतिहासको एउटा कालखण्डलाई सम्झाउने बताए । सिनेमाको कथा, अभिनय र प्रस्तुति पनि प्रभावकारी रहेको उनको भनाई थियो । सिनेमाले भावुक बनाउने पनि उनले उल्लेख गरेका छन् । गोर्खाली सैनिक वास्तवमै बहादुर हुन्छन् भन्ने कुरा सिनेमाले देखाएको उनको भनाई थियो ।

पूर्व प्रधानमन्त्री ओलीले भने-‘हाम्रो एउटा इतिहासको पानासँग जोडिएको सिनेमा रहेछ । यसले हाम्रो इतिहासको एउटा कालखण्डलाई सम्झाउँछ । सिनेमा मनछुने छ । कहिले कहिले भावुक बनाउँछ । एकातिर लडाईं गर्दागर्दै अर्कोतिर मानवीय भावनाबाट पनि प्रेरित छ । सिनेमा हेर्न थालेपछि सकिएको थाहा नै हुन्न ।’

अभिनेता हरिवंश आचार्यले सिनेमामा गोर्खालीहरुको वीरताको कथा भनिएको र त्यो कथाभित्रको वेदना र छट्पटाहटलाई मनछुने ढंगले पस्किएको भन्दै तारिफ गरेका छन् । उनले मेकिङ राम्रो रहेको भन्दै सिनेमाको टिमले धेरै मिहिनेत गर्नुभएको छ । यतिधेरै मिहिनेत गरिएको यो पहिलो नेपाली सिनेमा होला । यो अरु सिनेमासँग तुलना गर्नै मिल्दैन । यो आफ्नै परिवेशको कथा हो ।’

पर्यटनमन्त्री सुदन किराँतीले सिनेमा हेर्दा आफूले युद्धमा शहिद भएका हजुरबुबा र बुबालाई सम्झिएको बताए । ‘सिनेमा हेर्दा मैले हजुरबुबा र बुबालाई सम्झिएँ । उहाँहरु पनि लडाईंमै वित्नुभएको थियो । सिनेमा हेर्दा मेरो बुबा जिउँदो हुनुभएको जस्तो लाग्यो,’ उनले भने । यस्तो विषयमा सिनेमा बनाउन राज्यको तर्फबाट वातावरण निर्माण हुनुपर्ने पनि मन्त्री किराँतीको तर्क थियो ।

हास्य कलाकार किरण केसीले भने वीर गोर्खाली किन भनिन्छ भन्ने कुरा सिनेमा हेरेपछि आफू प्रष्ट भएको बताउँदै मिलन चाम्सको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए । अभिनेता सरोज खनालले अहिले आइरहेका सिनेमाभन्दा ‘गोर्खा वारियर’ निकै पृथक रहेको दाबी गरेका छन् । सिनेमाले उठाएको कथा धेरै पुरानो नभए पनि धेरै नेपालीलाई थाहा नभएकोले त्यसलाई प्रष्ट रुपमा देखाइएको बताए ।

सिनेमाको प्रिमियरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेल, एमाले नेता शेरधन राई, पूर्व मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा नेता तथा सांसद् ज्ञानेन्द्र शाहीसहित निर्देशकहरु ज्ञानेन्द्र देउजा, दीवाकर भट्टराई, अभिनेता राज कटुवाल, अभिनेत्री प्रियंका कार्की, मोडल गरिमा शर्मा, रुशा न्यौपाने, स्नेहा भट्टराई, श्रद्धा क्षेत्री लगायतको पनि उपस्थिति थियो ।

पूर्वप्रधानमन्त्री ओलीले प्रिमियर समारोहमा सिनेमाका अभिनेता विजय लामालाई ‘वारियर सम्मान’ समेत प्रदान गरेका थिए । प्रिमियरमा राम्रो प्रतिक्रिया मिलेपछि खुशी देखिएका निर्देशक चाम्सले ‘गोर्खा वारियर’ एउटा ‘डकुमेन्टेसन’ रहेको बताए । ‘सिनेमाको तारिफ हुँदा ठूलो उर्जा मिलेको छ । यो गोर्खा सैनिकको ‘डकुमेन्टेसन’ हो । अब गौतमबुद्ध, सगरमाथाको बारेमा भिजुअलमार्फत् ‘डकुमेन्टेसन’ बनाउनु पर्छ,’ उनले भने ।

आगामी शुक्रबार अर्थात् फागुन ११ गतेबाट ‘गोर्खा वारियर’ प्रदर्शनमा आउँदैछ । सिनेमामा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ । गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित भएर सिनेमा बनेको हो ।

हिन्दी र अंग्रेजी भाषामा पनि तयार भएको सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा एक अमेरिकी कम्पनीले वितरण गर्ने जनाइएको छ । निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको सिनेमाको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । ‘गोर्खा वारियर’को कार्यकारी निर्माता प्रशान्त थापा र राजेन्द्र घिमिरे र सुरेश राई सह-निर्मातामा छन् । सिनेमामा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।