डाक्टर अरविन्द्र कटवालसँग अभिनेत्री नन्दिता केसीले गरिन् विवाह

डाक्टर अरविन्द्र कटवालसँग अभिनेत्री नन्दिता केसीले गरिन् विवाह

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाकी सफल अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाँधिएकी छन् । गत हप्ता नन्दिताले आफू विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएकी थिइन् । क्यानडाको बान्फ नेशनल पार्कमा अरविन्द्रले नन्दितालाई विवाहको प्रस्ताव राख्दै औँठी लगाइदिएका थिए ।

शनिबार लाजिम्पाटस्थित शंकर होटलमा अभिनेत्री केसीले डाक्टर अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको विवाह समारोहमा दुई पक्षका पारिवारिक सदस्यसँगै अभिनेता भुवन केसी, दीलिप रायमाझी दम्पती, श्वेता खड्का, रेनशा वान्तवा राई लगायतका सेलिब्रेटीहरु पनि सहभागी थिए । बिहीबार नन्दिताको मेहेन्दी सेरोमनी भएको थियो ।

अरविन्द्र पेशाले भने कार्डियोलोजिस्ट अर्थात् मुटुरोग विशिषज्ञ हुन् । उनी अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने गरेका छन् । नन्दिताले पनि विगत लामो समयदेखि अमेरिकालाई नै कर्मथलो बनाएकी छन् । अमेरिका गएसँगै नन्दिताले अभिनयलाई निरन्तरता दिन सकेकी छैनन् ।

सिनेमा ‘इन्द्रेणी’बाट डेब्यू गरेकी नन्दिताको पछिल्लो रिलिज सिनेमा ‘जंगबहादुरको कोट’ हो । दुई दर्जनभन्दा बढी सिनेमामा अभिनय गरेकी नन्दिताले ‘हामी तीन भाई’, ‘बाटो मुनीको फूल’, ‘बसमा छैन यो मन’, ‘सपना, ‘त्रिशुल’, ‘पराई’, ‘लोग्ने मान्छे’, ‘युद्ध’ लगायतमा मुख्य भुमिकामा काम गरेकी थिइन् ।