लोकप्रिय भयो केकीको सिनेमाको गीत ‘बुझिन मैले’

लोकप्रिय भयो केकीको सिनेमाको गीत ‘बुझिन मैले’

सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ ।

दिनेश सिटौला
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बक्सअफिस र समीक्षात्मक हिसावले थुप्रै सिनेमा सफल भए पनि लामो समय यता रिलिज भएका सिनेमाका गीत लोकप्रिय हुन सकेनन् । थुप्रै गीत आए तर ती लोकप्रिय भएनन् । धेरै गीत दर्शकको रोजाइमा परेनन् । जब कि पछिल्लो दशक नेपालमा ५० दशकयता लोकप्रिय गीतको सूचीमा सिनेमाका गीतको दबदबा रहँदै आएको छ ।

तर लामो समयपछि सिनेमाको गीत लोकप्रिय भयो । त्यो हो ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ । छोटो अवधीमा यो गीतले लोभलाग्दो भ्युज मात्रै बटुलेन । गीतको चर्चा पनि उत्तिकै भयो/भइरहेको छ ।

खासगरी यो गीतको मेकिङ पक्ष बलियो छ । कोरियोग्राफी फरक छ । गीत सिंगल ट्रयाकमा आउन थालेपछि गीत सुन्ने मात्रै होइन हेर्ने पनि भएको छ । अथवा अडियो बलियो भएर मात्रै हुँदैन । युट्युबमा अपलोड हुने भिडियो पनि बलियो हुनुपर्छ । त्यसैले गीत चल्नुमा मेकिङको ठूलो अर्थ र प्रभाव रहन्छ ।

रेखा थापाको अभिनय रहेका धेरै गीत हिट छन् । कारण हो, उनको बडी ल्याङग्वेज । उनले दिने फेसियल एक्सप्रेसन रेखाका गीत हिट हुनुको एउटा मुख्य कारण हो । उनको अनुहारको अदाहले दर्शकको ध्यान खिच्थ्यो/खिच्छ ।

करिब करिब त्यस्तै गीत हो-बुझिन मैले । जहाँ मुख्य भूमिकामा रहेकी केकी अधिकारीको फेसियल एक्सप्रेसन र अदाहले दर्शकको ध्यान खिचेको छ । डान्सको स्टेप र त्यसको सिक्वेन्सले भिडियोलाई फरक बनाएको छ । भिडमा बेग्लै बनाएको छ । अडियोसँग म्याच भएको भिडियोले दर्शकको ध्यान मस्तसँग खिचिरहेको छ ।

त्यतिबेला मात्रै कोरियोग्राफरले भिडियोलाई बलियो बनाउन र केही फरकपन दिन सक्छन्, जतिबेला अडियो नै बलियो हुन्छ । गीतको शन्दर्भमा अडियो भन्नाले गीतको शब्द, संगीत, लय र गायन हो । यी सबै पक्ष यो गीतमा बलियो छ ।

प्रकाश सपूतको शब्द तथा संगीत रहेको गीतले मौलिकतालाई जोड दिएको छ । टिपिकल शब्दका कारण गीत धेरैले मन पराइरहेका छन् । विशेषगरि गाउँघरमा धामी वा झाँक्री बस्दा प्रयोग हुने शब्द जस्ताको तस्तै प्रयोग हुँदा त्यसले पनि लोकल (मौलिक) फ्लेबर दिएको छ । यो गाउँका वा गाउँले परिवेश देखे वा बुझेका स्रोताका लागि आफ्नै भोगाइ भएकाले मन जित्यो । सरहका स्रोताका लागि नौलो भयो । एकाध सिनेमातिर देखेको वा आक्कलझुक्कल सुनेको भएकाले यसले तान्यो ।

शब्दपछि बाँकी रह्यो गायन र लयको । केकी अधिकारीकै भाषामा कतै सुनेसुने जस्तो तर नयाँ । पहिले नै लोकप्रिय भए जस्तो तर नयाँ संगीत भएकाले स्रोताले रुचाइरहेका छन् । यो संगीत अथवा लय बिल्कुल नयाँ लाग्दैन तर हुबहु यस्तै कुनै गीतमा छैन । तर गीत सुन्दा अनकन्सस माइन्डमा कतै सुने झैँ लाग्छ । यही नै यो गीत लोकप्रिय हुनुको अर्को कारण हो । समीक्षा अधिकारीको कर्णप्रिय स्वरले गीतमा प्राण भरेको छ । कोकिलकण्ठी उनको स्वर यो गीतको अर्को बलियो पक्ष हो ।

नेपाली समाजमा अहिले पनि भूतप्रेत, बोक्सी, डायनीलगायत थुप्रै अन्धविश्वास छ । मन्त्र र यसमा रहेको शक्तिप्रति अहिले पनि विश्वास गर्ने जमात छँदैछ । कालो विरालो र यससँग जोडिएका अनेकन पक्षमा तर्क÷वितर्क गर्ने समूह सानो छैन । भिडियोमा यी कुरा देखिएकाले पनि गीत लोकप्रिय भएको हो । त्यसँगै केकीको अभिनय भिडियो रुचाइनुको अर्को कारण हो । उनको अभिनयको धेरैले तारिफ गरिरहेका छन् ।

भिडियोमा देखिने चौतारो, पिपलको रुख, रातो र कालो रङ्, कालो बिरालो र रातको प्रहरले पनि भिडियोलाई जीवन्त बनाएको छ । त्यसैले यो गीत आमजनको जिव्रोमा झुण्डिदैछ । केकीकै शब्दमा गीत लोकप्रिय हुन शब्द सरल र सहज हुनुपर्छ । एकपटक सुन्दा नै सम्झिने हुनुपर्छ ।

शब्द सरल भएजस्तै संगीत अथवा लय पनि क्लिस्ट नभएर सलल बग्ने हुनुपर्छ अनि मात्रै गीत लोकप्रिय हुन्छ । यिनै विशेषताका काराण हो, बुझिन मैले हिट भएको । लामो समयपछि चलचित्रको गीत चलेको । गीत लोकप्रिय हुँदा सिनेका बोक्सीको घरको प्रचार मात्रै भएको छैन, हाइप पनि बढाएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको सिनेमामा केकी सहित श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटालगायतको अभिनय छ ।

अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने निर्माण पक्षले बताएको छ । समाजका अवला महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको छ ।

केकी अधिकारी फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुनेछ । अन्तर्राष्ट्रिय महोत्सवमा समेत यो सिनेमा लैजाने केकीको तयारी छ । सिनेमामा निर्माताका रूपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमा आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । लोचन रिजालको ब्याकग्राउन्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ । चलचित्र वैशाख १४ गते रिलिज हुँदैछ ।