सलोन र करिष्मा दम्पत्तिलाई पुत्रीलाभ

सलोन र करिष्मा दम्पत्तिलाई पुत्रीलाभ

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुधबार मातातीर्थ औंसीको दिन अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी बाबु–आमा बनेका छन् । उनीहरुलाई पुत्रीलाभ भएको हो । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा करिश्माले बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

मंगलबार राति उनलाई अस्पताल भर्ना गरिएको थियो । सलोनका पिता तथा सिनेमा निर्देशक शोभित बस्नेतले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको बताए । सलोन र करिश्माले गत वर्ष विवाहको पहिलो वर्षगाँठको अवसरमा आफूहरु अभिभावक बन्न लागेको जानकारी दिएका थिए ।

त्यसबेला उनीहरुले छोरी भए ‘सलोमा’ नाम राख्ने समेत जनाएका थिए । सलोन र करिश्मालाई ‘सलोमा’ जोडी भन्ने गरिन्छ । २०७९ सालको मंसिर १२ गते उनीहरुले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

सलोन चाँडै आफ्नो लगानीमा सिनेमा ‘यूनिभर्सिटी अफ गुण्डाज्’ निर्माणको तयारीमा छन् । यसमा उनी स्वयंको अभिनय रहनेछ । उनीहरुले केही म्यूजिक भिडियोमा एकसाथ काम पनि गरेका छन् । करिश्मा पेशाले भने एयर होस्टेस हुन् ।