‘प्रकाश’ टिमले राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर गरेको रिट खारेज

‘प्रकाश’ टिमले राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर गरेको रिट खारेज

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रिय चलचित्र पुरस्कारविरुद्ध दायर रिटलाई पाटन उच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीशद्धय लेखनाथ पौडेल र टीकराम आचार्यको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

सिनेमा ‘प्रकाश’का लेखक र निर्देशकले गतवर्षको असोज २४ गते २०८० सालमा वितरण गरिएको पुरस्कारमा सर्वोत्कृष्ट सिनेमाको घोषणा नगर्ने निर्णयविरुद्ध रिट दायर गरेका थिए । यो सिनेमाका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र सिनेमा छायांकन स्थल जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले रिट परमादेश माग गर्दै रिट दायर गरेका थिए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा गतवर्षको भदौ १२ गते सर्वश्रेष्ठ सिनेमालाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए । खासगरी सत्तारुढ माओवादी दललाई उक्त सिनेमामा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेपमा यो विधामा पुरस्कार नबाँडिएको प्रतिक्रिया आएका थिए ।

यो मुद्दामा बोर्डविरुद्ध अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । अध्यक्ष भुवन केसीले वारेसमार्फत अदालतलाई जवाफ दिँदै सिनेमा ‘प्रकाश’लाई जुरीले उत्कृष्ट सिनेमा भनी सिफारिस गरेको तर बोर्डका सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले दिएको प्रतिवेदनको सुझावको आधारमा उत्कृष्ट राष्ट्रिय सिनेमा विधाको पुरस्कार नबाँडिएको जानकारी दिएका थिए ।