‘मनसरा’को पहिलो हप्ताको कमाइ ३ करोड २० लाख ग्रस, तेस्रो सातामा ‘बोक्सीको घर’

‘मनसरा’को पहिलो हप्ताको कमाइ ३ करोड २० लाख ग्रस, तेस्रो सातामा ‘बोक्सीको घर’

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत बैशाख २१ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ आज शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । यो सिनेमा दर्शकको उच्च वर्ड अफ माउथ र राम्रो शोसहित दोस्रो हप्तामा प्रवेश गरेको हो ।

दर्शकको राम्रो साथ पाएको सिनेमाको निर्माणले दोस्रो सातामा प्रवेश गरेसँगै पहिलो हप्ताको कमाई पनि सार्वजनिक गरेको छ । निर्माण कम्पनि कबड्डी फिल्मस्का अनुसार सिनेमाको पहिलो हप्तामा ३ करोड २० लाख ग्रस कलेक्सन गरेको हो । यो कलेक्सन सुखद् भएको निर्माता शैलेन्द्र डी कार्कीले बताए । हाम्रो अपेक्षा अनुसार नभएपनि पहिलो हप्ताको व्यापार सन्तोष जनक भएको उनको भनाई छ ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमामा दयाहाङ, मिरुना मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा निमेश श्रेष्ठको सम्पादन तथा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

यस्तै, यो शुक्रबारबाट अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको सिनेमा ‘बोक्सीको घर’ तेस्रो सातामा प्रवेश गरेको छ । बक्सअफिसमा राम्रो दर्शकको साथ पाएको सिनेमाले तेस्रो सातामा पनि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ । यो सिनेमालाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिट घोषणा गरिसकेको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।