द सिनेमा टाइम्स, काठमाडौं । असोज १७ गते दशैंको घटस्थापनाको अवसर पारेर आज बिहीबारबाट सिनेमा ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरुवात गरेको छ । सिनेमाले सोलो रिलिजको अवसर पाएको हो । एकै हप्तामा २३ सिनेमा प्रदर्शन भैरहेको बेला यो सिनेमाले सोलो रिलिजको दुर्लभ अवसर पाएको छ ।
निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको सिनेमा नेपाल सिनेमाको इतिहासमै सर्वाधिक ३४० शो पाएको छ । सिनेमाले बक्स अफिसमा सुखद् ओपनिङको सुरुवात गरेको छ । सोमबारबाट देशभरका मल्टीप्लेक्सहरुले खुला गरेको ‘एड्भान्स बुकिङ’मा सिनेमाप्रति राम्रो क्रेज देखिएको छ ।
काठमाडौंमा केही शोज बुधबार साँझ नै ‘सोल्डआउट’ भएका थिए । प्रिमियर शोमा पनि राम्रो प्रतिक्रिया पाएकाले सिनेमाले दर्शकबाट ‘वर्ड अफ माउथ’ उत्कृष्ट पाउने अपेक्षा निर्माण टिमलाई छ । प्रचार शैली, बलियो स्टारकास्ट र छड्के सलाम गीतका कारण सिनेमाको हाइप राम्रो बनेको थियो ।
सिनेमाले विवाहको कथा भन्छ । ३० वर्ष टेक्न लागेकी छोरीका लागि योग्य वर खोज्न एक परिवारले गरेको संघर्षलाई सिनेमाले हास्य शैलीमा देखाएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा सिनेमाको प्रिमियर गरिएको थियो ।
राजनितिज्ञ तथा सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको प्रिमियरमा सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन् । सिनेमामा पनि उनले ट्याक्टर चलाएको दृश्य छ । स्वस्तिमा ट्याक्टर चलाएर भाटभटेनी पुग्दा उनलाई हेर्न दर्शकको ठूलो भीड उर्लिएको थियो ।
सिनेमाको प्रिमियरमा निर्देशकहरु अशोक शर्मा, दीपेन्द्र के खनाल, रेनशा वान्तवा राई, प्रदीप भट्टराई, शोभित बस्नेत, अभिनेताहरु आशुष्मान देशराज जोशी, आशीर्वाद क्षेत्री, विरेन श्रेष्ठ, अभिनेत्रीहरु प्रियंका कार्की, आना शर्मा लगायतको पनि उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी धेरै सिनेमाकर्मीले सिनेमाको प्रशंसा गरेका छन् ।
प्रिमियरमा ‘बेहुली फ्रम मेघौली’ले राम्रो प्रतिक्रिया पाएको छ । अभिनेता हरिवंश आचार्यले सिनेमा हेरुन्जेल रमाइलो रहेको बताए । स्वस्तिमाको अभिनय र ‘क्लाइमेक्स’को विशेष प्रशंसा गरेका उनले थिए । ‘छोरी भनेको बुबाआमाको बोझ होइन भनेर सिनेमाले राम्रो सन्देश दिन खोजेको छ । छोरीको बिहे गरिहाल्नुपर्छ भन्ने पुरानो सोचलाई चिर्छ’, उनले भने ।
नेपाली सिनेमाको प्रिमियरमा धेरैपछि सहभागी भएकी अभिनेत्री निरुता सिंहले सिनेमा एकदमै रमाइलो बनेको बताइन् । ‘सिनेमा एकदमै इन्टरटेनिङ छ । एक सेकेण्डका लागि पनि माइन्ड डाइभर्ट हुन दिँदैन । हरेक सिन राम्रो छ’, उनी भन्छिन्, ‘स्वस्तिमाको अभिनय त झनै राम्रो छ । यो एउटा ‘प्याकेज’को सिनेमा हो ।’ सिनेमाले राम्रो सन्देश पनि दिएको उनले बताएकी छन् ।
सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।




प्रतिक्रिया