‘मेरो भ्वाइस र डान्स युनिर्भस’को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा

‘मेरो भ्वाइस र डान्स युनिर्भस’को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको रियालिटी शो ‘मेरो भ्वाइस युनिर्भस’ र ‘मेरो डान्स युनिर्भस’को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए ।

इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख नगदसँगै अन्य विभिन्न पुरस्कार प्राप्त गर्ने बताए । कार्यक्रममा ‘मेरो भ्वाइस युनिर्भस’मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिकामा रहने जानकारी गराइयो ।

यता, ‘मेरो डान्स युनिर्भस’मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दीलिप रायमाझी, नृत्य निर्देशक शङकर विसी र कविराज गहतराज, किरण थापा र अभिनेत्री शिल्पा मास्के रहेका छन् । कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ छिन् ।

आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिर्भस’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिर्भस’ लाई मोसमी गुरुङले निर्देशन गर्ने जानकारी गराइयो । नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो वर्ष सन् २०२५ को जनवरी २५ बाट सुरू हुनेछ ।

अमेरिका र क्यानडाको लागि जनवरी २५ र २६ मा अमेरिकास्थित कोलम्बस ओहायो, फेब्रुअरी १५ र १६ बेलायतको लन्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । फेब्रुअरी २२ र २३ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैंकक, अस्ट्रेलियाको सिड्नी, नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ ।

यस्तै, मार्च १ र २ मा भारतको मुम्बई र नेपालको नेपालगञ्ज, मार्च ८ र ९ मा भारतको सिलिगुरी, मार्च १५ र १६ मा झापाको दमक र मार्च २९ र ३० मा काठमाडौँमा अडिसन हुँदैछ । कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, अभिनेत्री केकी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।