द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्रि भएको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको हो ।
मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, सेभेन सिज इन्टरनेशनलले ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ ।
वितरक प्याट्रिक सुवेदीले ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन् । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका हुन् । नेपालमा भने सिनेमालाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
सिनेमामा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताको रुपमा रहेका छन् ।


प्रतिक्रिया