हसाउँदै गम्भीर कथा भन्ने ‘फेरि रेशम फिलिली’

हसाउँदै गम्भीर कथा भन्ने ‘फेरि रेशम फिलिली’

समाजमा रहेको जल्दोबल्दो यथार्थलाई हास्यरसमा भन्ने निर्देशकले गरेको निर्णय सफल भएको छ ।

द सिनेमा टाइम्स
532
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आफू र आमाको दुःख कटाउन अमेरिका जाने खोज्ने छोराको सपना र त्यसको बाधक बन्ने समाजको कथा नै सिनेमा ‘फेरि रेशम फिलिली’को मुख्य कथा हो ।

खाडी गएर आफू र घरको दुःख सल्टाउने सपना पूरा नभएपछि अमेरिका जान खोज्ने तर त्यसको डाहा गर्ने आफ्नै साथी र उसको पछि लागेर अमेरिका जान खोज्ने र पठाउन चाहनेको कथा हो, यो सिनेमा ।

‘फेरि रेशम फिलिली’ले आफू अमेरिका जान नसक्ने तर सँगैको छिमेकी साथी अमेरिका जाने भएपछि आफ्नोभन्दा उसको इज्जत बढ्ने भयो भन्ने डाहामा पोल्ने व्यक्तिले कुन हदसम्म अवरोध सिर्जना गर्छ भन्ने कथा भनेको छ ।

सुरुमा विवाहका लागि छोरी नदिने बाउआमा अमेरिका जाने थाहा पाएपछि त्यही केटालाई ज्वाई बनाउन कति लालायित हुन्छन् भन्ने सिनेमाले देखाएको छ । गाउँमात्रै होइन सहरबजारका युवा समेत अमेरिका जान के के सम्म गर्न तयार हुन्छन् भन्ने कथा नै यो सिनेमाको सार हो ।

यो कथालाई निर्देशक निरोज महर्जनले कमेडी शैलीमा भनेका छन् । उनले दर्शकलाई हसाउँदै रमाइलो शैलीमा कथा भनेका छन् । समाजमा रहेको जल्दोबल्दो यथार्थलाई हास्यरसमा भन्ने निर्देशकले गरेको निर्णय सफल भएको छ ।

गम्भीर विषयलाई पनि उनले हसाउँदै भन्नसक्नु निर्देशक र लेखकको खुबी हो । यसमा सिनेमा सफल छ । सिनेमाको लेखक पनि निर्देशक निरोज नै हुन् । लेखक र निर्देशकका रुपमा उनको राम्रो उदय भयको छ। नेपाली सिनेमाले छेत्रले राम्रो निर्देशक पाएको छ ।

क्यामेरा वर्कमा समस्या छैन । समय र सिन अनुसार कम्पोज र फ्रेमले कथा भन्न सहयोग पुर्याएको छ । कलर टोनमा खेल्ने प्रयास देखिएको छ । सांगीतिक पक्ष सिनेमामा बलियो छ । मुख्य चरित्रको कथा भन्न आएको गीतले दर्शकको मन मजाले जित्छ । रमाइलो गीत ‘फेरि जालमा’ले दर्शकलाई मनोरञ्जन दिन्छ ।साउन्ड र बीजीएमले पनि बिजाउने छैन ।

अभिनयमा चरित्रले जिम्मेवारी पूरा गरेका छन् । हरिया अथवा कामेश्वर चौरासियाले विनयको साथीको भूमिका गज्जवले निभाएका छन् । उनले दर्शकलाई हसाइरहन्छन् ।

अभिनयमा कलाकार फिट देखिएका छन् । महेश त्रिपाठीको गज्जबको अभिनयलाई दर्शकले भुल्न सक्दैनन् । नीर शाहको ओजनदार डाइलग डेलिभरी र उनको अभिनयले अघिल्लो पुस्ताका दर्शकलाई पनि हलसम्म डो¥याउन मद्धत गर्छ ।

केही सिन सम्पादनको टेबलमा छोट्याउँदा राम्रै हुन्थ्यो । तर, हसाइरहने पात्र र संवादले सिनेमाले दर्शकलाई बोर हुन दिँदैन ।समस्याकै दृश्यबीच आउने पञ्चलाइनले दर्शकलाई होल्ड गरिरहन्छ । टुटेफुटेका एकाध अंग्रेजी शब्द घोलेर बोल्ने हजमोला उर्फ मेक्सम गौंडेलले दर्शकलाई हसाइरहन्छन् ।हरिया र हजमोला दर्शकका लागि विशेष खुराक हुन् । हास्न रमाउन हलमा आउने दर्शकका रोजाइका चरित्र हुन् ।

आफूलाई नै सर्बेसर्बा सम्झिने र आफूभन्दा अगाडि अर्को व्यक्ति माथि उक्लिएको हेर्न नचाहने समाज र व्यक्तिको प्रतिनिधि भएर सिनेमामा देखिएका हाजमोलाले दर्शकलाई पेट मिचिमिचि हसाउँछन् ।

अभिनयको नसा लागेर सिनेमाको सुपरस्टार हुने रहर बोकेर हिँडेका हरियाले अहिलेको युवा पुस्ताको एउटा तप्काको प्रतिनिधित्व गरेका छन् । उनको यो सपना पूरा गर्न गरेको संघर्ष दुखद् छ, तर त्यसैलाई रमाइलो तरिकाले ट्रिटमेन्ट गर्दा उनी दर्शक हसाइरहन्छन् ।

प्रेम, धोका र बदलाको कथा भन्न सिनेमामा देखिएकी सुपुष्पाले अहिलेको सहरिया युवतीको प्रतिनिधित्व गर्छिन् । धनी बाउकी इखालु छोरीको भूमिकामा देखिने उनी सिनेमाको अर्को मेरुदण्ड हुन् ।

विषय गम्भीर भए पनि त्यसलाई कसरी सरल र छरितो तरिकाले हसाउँदै भन्न सकिन्छ भन्नेमा ध्यान दिएर बनाइको सिनेमा आफ्नो उद्धेश्यमा सफल छ । सिनेमा मनोरञ्जन हो र सिनेमा हेर्न हास्नकै लागि हलसम्म जाने हो भन्ने दर्शकका लागि ‘फेरि रेशम फिलिली’ रोजाइमा पर्ने सिनेमा हो ।

० ० ०

निर्देशक : निरोज महर्जन
लेखक : निरोज महर्जन
कलाकार : नीर शाह, विनय श्रेष्ठ, कामेश्वर चौरासिया, महेश त्रिपाठी, सुपुष्पा भट्ट, मेक्सम गौडेल आदि ।
निर्माता : रौनक विक्रम कँडेल
ब्यानर : सिनेमा आर्ट
जनरा : सोसल कमेडी ड्रामा