कस्तो छ ‘झरिपछिको इन्द्रेणी’ ?

कस्तो छ ‘झरिपछिको इन्द्रेणी’ ?


द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘झरिपछिको इन्द्रेणी’ले दर्शकबाट तारिफ पाइरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो सिनेमा हेर्नेले पछिल्लो समयको नेपालको दुरुस्त चित्रण भनेका छन् । हरेक शोमा ७० प्रतिशतभन्दा माथि अकुपेन्सीका साथमा यो सिनेमा चलिरहेको छ ।

कथा
भ्रष्टाचार, बेइमानी, अकुत सम्पत्ति भण्डारण, सम्पत्तिको आडमा गरिने फूर्ती अनि इमान्दार कर्मचारीको हविगत यो सिनेमाले देखाएको छ । इमान्दार कर्मचारीको कमाईले परिवार धान्नसमेत हुने हैरानी तर बेइमान र भ्रष्ट कर्मचारीको आलिसान महल, अहिलेको नेपाली समाज यही नै हो । ‘झरिपछिको इन्द्रेणी’ले यही कथा उठान गरेको छ ।

घुसबिना वरको सिन्को पर नसार्ने कर्मचारीतन्त्र ‘झरिपछिको इन्द्रेणी’मा छ । इमान्दार कर्मचारीलाई कसरी भ्रष्टहरु मिलेर बदनाम गर्छन्, ‘झरिपछिको इन्द्रेणी’ले देखाइदिएको छ ।

पैसाको धाकमा दिदी र भिनाजुलाई मान्छे नगनन्ने बहिनी ज्वाइँ र इमानदारले कसरी चोटमाथि चोट बेहोर्नुपर्छ, इमानलाई ध्वस्त बनाउन कसरी आफ्नैहरु कसरी हात धोएर लाग्छन् भन्ने यो सिनेमामा देखाइएको छ ।

विदेश मोह र त्यसका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार हुने अहिलेको युवा पुस्ताको कथा छ, यो सिनेमामा । जनप्रतिनिधिका नाममा प्रनिधि र कर्मचारी मिलेर जनतालाई दिने दुःख र भ्रष्टाचारलाई सिनेमाले जस्ताको तस्तै उठाएको छ ।

अभिनय
सिनेमामा अधिकांश कलाकारले आफ्नो पात्रलाई न्याय गरेका छन् । गणेश उप्रेती जो, ‘झरिपछिको इन्द्रेणी’को नायक हुन्, उनको कमब्याक सफल भएको छ । उनले आफ्नो चरित्रलाई उकास्न कुनै कसर बाँकी छोडेका छैनन् । लामो समय सिनेमाबाट हराएको भोक यो सिनेमामार्फत मेटाएका छन् ।

विमोचन दवाडीले पनि आफ्नो पात्रलाई न्याय गरेका छ । संवाद डेलिभरीमा उनी मजाले खुलेका छन् । प्रियाना आचार्य,जेसिका पोखरेलले पनि पात्रलाई न्याय गरेका  छन् ।

यो सिनेमामा सबैभन्दा सहजै पात्रलाई न्याय गरेकानोटिस भएका कलाकार हुन्, दिप्सन चिलवाल । उनी यो सिनेमाका पञ्चलाइनर हुन् ।

रमेश, उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरीलगायत कलाकारले पनि सिनेमाको प्राण भर्ने काम गरेका छन् ।

ब्याकग्राउन्ड स्कोर
यो सिनेमामा ब्याकग्राउन्ड स्कोरमा राम्रो काम भएको छ । प्रायः सिनेमामा देखिने औसत ब्याकग्राउन्ड स्कोरभन्दा माथि छ, ‘झरिपछिको इन्द्रेणी’मा ब्याकग्राउन्ड स्कोर । त्यसैले प्राविधिक पक्ष पनि बलियो छ ।

सिनेमाटोग्राफी
सिनेमाटोग्राफीमा पनि राम्रो काम देखिएको छ । सिनेमाको कथाले मागे अनुसारको सिनेमेटोग्राफी देखिन्छ । कथा जसरी अगाडि बढ्छ, त्यसलाई ख्याल गर्दे सिनेमाटोग्राफीमा काम गरेको देखिन्छ ।

संगीत
कथा भन्नकै लागि प्रयोगमा आएका छन् गीत । बालेनको ¥याप होस् वा अरु गीत, मसला र प्रचारका लागि मात्रै नभएर कथा भन्न आइपुग्ने गीत प्रयोग गरिएको छ ।

कलर, लाइट र कष्ट्युम
कलर र कष्ट्युमले सिनेमालाई थप बलियो बनाउने काम गरेका छन् । मुख्य कलाकारको चरित्र सहुँदो कष्ट्युम छ । खलपात्रको चरित्रमा रहेकाहरूको कष्ट्युम छनोटमा पनि राम्रो काम गएको देखिएको छ ।

कलर सिनेमाको अर्को पक्ष हो । कलरमा पनि विशेष ध्यान दिइएको छ । धेरै कथा कलरको सही संयोजनले पनि भन्छ । जुन यो सिनेमामा छ ।

लाइट, यो सिनेमाको अर्को राम्रो पक्ष हो । राति र साँझका दृश्यमा लाइटको संयोजनका लागि सेटमा कम्प्रमाइज भएको पाइँदैन । यसले पनि सिनेमाको क्वालिटी बढाउन मद्धत गरेको छ ।

निर्देशन
अर्जुन घिमिरे (पाँडे) टेलिसिनेमा निर्देशन र अभिनय गरेर आएका हुन् । ‘झरीपछिको इन्द्रेणी’ उनको पहिलो फिचर सिनेमा हो, निर्देशकीय हिसाबले । तर, उनले निर्देशनमा पनि आफ्नो क्षमता देखाएका छन् । अर्जुन घिमिरे (पाँडे) ले राम्रो सिनेमा निर्देशन गर्नसक्ने पहिलो सिनेमाबाट प्रष्ट पारिदिएका छन् ।