द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा मनोरञ्जनसहित समाजका गहिरा यथार्थ उजागर गर्ने कथा विरलै आउँछन् । विदेश जाने सपनाभित्र लुकेको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोजलाई एउटै कथामा समेटेर निर्माण गरिएको सिनेमा ‘प्रवासी जीवन’ त्यस्तै एउटा प्रयास हो ।
भुटानी मूलका नेपाली भाषी कलाकार श्याम क्षेत्रीको परिकल्पना, निर्देशन तथा अभिनयमा निर्माण भएको सिनेमाले प्रवासी नेपालीको संघर्ष, पहिचान र मानसिक अवस्थालाई केन्द्रमा राखेको छ । लामो सययदेखि अमेरिका बसोबास गर्दै आएका क्षेत्री शरणार्थी शिविरमा हुर्किएका हुन् । कानुनी रूपमा नेपाली नागरिकता नभए पनि उनले आफूलाई नेपाली संस्कार, भाषा र संस्कृतिसँग गहिरो रूपमा जोडिएको बताउँछन् ।
‘म भुटानी मूलको नेपाली भाषी हुँ । मेरो जन्म झापामै भयो, शरणार्थी शिविरमा हुर्किएँ । वैधानिक रूपमा नेपाली नागरिकता नभए पनि म आफूलाई नेपाली नै मान्छुु,’ क्षेत्रीले भने । अमेरिकामा पुनस्र्थापित भएपछि पनि उनले नेपालीपन नछाडेको र त्यही भावनाले कलाकारितातर्फ आकर्षित गरेको बताए । विदेशमा रहँदा नेपाली हुनुको अर्थ अझ गहिरो महसुस भयो । कलाकारितामा करियर बनाउने सोचले अन्ततः सिनेमा निर्माणसम्म आइपुगेँ ।
क्षेत्रीका अनुसार प्रवासमा बसेर कला क्षेत्रमा सक्रिय रहनु चुनौतीपूर्ण हुन्छ । समय, आर्थिक जिम्मेवारी र कामको चापबीच सिर्जनात्मक काम गर्नु कठिन भए पनि सपनालाई जीवित राख्न सकिने विश्वास उनको छ । सिनेमा ‘प्रवासी जीवन’मा उनले अभिनयसहित निर्देशनको जिम्मेवारी पनि सम्हालेका छन् ।
सिनेमामा उनले मानसिक स्वास्थ्य समस्याबाट ग्रसित पात्रको भूमिका निर्वाह गरेका छन् । नेपालबाट ठूलो सपना बोकेर अमेरिका पुगेको युवाको कथा सिनेमाले प्रस्तुत गर्छ । नयाँ परिवेश, भाषा, संस्कृति र एक्लोपनले मानिसलाई मानसिक रूपमा कसरी कमजोर बनाउँछ र त्यसबाट बाहिर निस्कने संघर्ष कस्तो हुन्छ भन्ने कथालाई सिनेमाको मुख्य विषय बनाइएको छ ।
क्षेत्रीका अनुसार नेपालमा बस्ने तथा विदेश जाने सोच बनाइरहेका दुवै वर्गका दर्शकका लागि यो सिनेमा महत्त्वपूर्ण छ । ‘विदेश जाने सोच बनाइरहेका युवाले यो सिनेमा हेर्नुपर्छ । प्रवासमा रहेका नेपालीहरूले हेरे भने आफ्नै कथा देखेजस्तो अनुभूति हुनेछु,’ उनले भने । मानसिक स्वास्थ्यलाई मुख्य विषय बनाउनुको कारण आफ्नै अनुभव भएको उनले बताए ।
अमेरिकामा १७ वर्षको बसाइमा डिप्रेसन, आत्महत्या र एक्लोपनका धेरै घटनाहरू देखेपछि यस विषयमा कथा भन्नैपर्छ भन्ने महसुस भएको उनको भनाई छ । सिनेमामा अभिनेता राजेश हमाललगायत कलाकारहरूको अभिनय रहेको छ । हमालले कुनै सर्तविना प्रवासी नेपालीहरूको संघर्षको कथा बुझेर परियोजनामा साथ दिएको क्षेत्रीले बताए । भविष्यमा पनि नयाँ स्क्रिप्ट लेखिरहेको र नयाँ परियोजनाको तयारीमा रहेको उनले जानकारी दिए ।
निर्देशक तथा कलाकार क्षेत्रीका अनुसार ‘प्रवासी जीवन’ केवल एक सिनेमा होइन, हजारौँ प्रवासी नेपालीहरूको साझा अनुभवको सिनेम्याटिक अभिव्यक्ति हो । विदेश जाने सपना, मानसिक स्वास्थ्य र नेपाली पहिचानजस्ता प्रश्न उठाउँदै दर्शकलाई सोच्न बाध्य पार्ने उद्देश्य सिनेमाको रहेको उनले बताए ।
प्रवासी जीवनका कथावस्तुमा आधारित यो गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको बताइएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने सिनेमामा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने संघर्षसहितको प्रवासी जीवनको कथा रहेको छ ।
यो सिनेमालाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीलाई मुख्य विषयवस्तु बनाएर सिनेमा निर्माण गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए ।
उनले भने, ‘प्रवासमा पुग्ने जो कोहिले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौं तर मानसिक रुपमा भोहिरहेको यातनालाई वे–वास्ता गर्ने गरेका छौँ । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौँ ।’
मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर सिनेमा तयार भएकाले प्रवासीको जीवनलाई नजिकबाट बुझ्न सिनेमा फलदायी हुने विश्वास निर्देशक क्षेत्रीको छ ।
सिनेमामा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारी र स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।
सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपालको सहकार्यसमेत रहेको सिनेमामा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायांकन गरिएको सिनेमालाई श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको छ । निर्माता समेत रहेका छायाँकार रविन आचार्य पनि यो सिनेमाका निर्माता हुन् ।
सिनेमाको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । यसमा अमृत बिसुवाले छायांकन, राम अधिकारीले सम्पादन, सुवास सिन्चुरीले पाश्र्व संगीत, देवी खतिवडाले शृङ्गार, राज शंकर र प्रतिक सार्कीले ध्वनी मुद्रण, नवीन कार्कीले संगीत सिर्जना, मुख्य सहायक निर्देशन लक्ष्मण अधिकारीले गरेका छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया