‘राम नाम सत्य’को आधुनिक राजकुमारीको भूमिकालाई लिएर उत्साहित दिव्या रायमाझी

‘राम नाम सत्य’को आधुनिक राजकुमारीको भूमिकालाई लिएर उत्साहित दिव्या रायमाझी

द सिनेमा टाइम्स
336
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका रहेको सिनेमा ‘राम नाम सत्य’ नेपाली नयाँ वर्षको छेको पारेर आगामी चैत्र २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो उनको अभिनयको हिसाबले तेस्रो सिनेमा हो । अघिल्ला दुई सिनेमा ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ निर्माण भएर प्रदर्शनमा समेत आइसकेका छन् ।

गत वर्ष नै प्रदर्शनमा आएका यी दुई सिनेमा मध्ये ‘पिताम्बर’ले औषत व्यापार गरेपनि ‘एक्टरः टेक वान’ रिलिजको मुखैमा नाम विवादमा तानिएपछि अपेक्षित व्यापार गर्न सकेन् । यसकारण दिव्यालाई ‘राम नाम सत्य’ व्यावसायिक सफल हुनैपर्ने दबाब छ । यो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा दिव्या निकै उत्साहित देखिएकी छन् ।

‘राम नाम सत्य’मा आफूले काम देखाउन पाएको दिव्या बताउँछिन् । सिनेमामा आधुनिक राजकुमारीको भूमिकामा अभिनय गरेको खुलासा गर्दै उनले भनेकी छन्, ‘यसअघिका सिनेमामा भन्दा यसमा म भिन्न तरिकाले आएको छु । काम पनि धेरै देखाउन पाएको छु । दर्शकलाई सिनेमा र मेरो काम मनपर्छ भन्ने विश्वास छ ।’

अभिनेत्री रायमाझीले ‘राम नाम सत्य’ एकदमै राम्रो बनेको दाबी समेत गरेकी छन् । ‘म आफैंले अभिनय गरेका कारण सिनेमा राम्रो छ भनेको होइन । सिनेमा साँचिक्कै राम्रो बनेको छ,’ उनी अगाडि भन्छिन्, ‘सिनेमामा एक्सन भरपुर छ । तर, यो एक्सन सिनेमा मात्र होइन । यसमा इमोसन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट सिनेमा बनेको छ ।’

यो सिनेमामा दिव्याको जोडी सुशील श्रेष्ठसँग बाँधिएको छ । सुशीलसँग काम गर्न एकदमै सजिलो भएको उनको अनुभव छ । विराज भट्टसँग पनि सिनेमामा काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘एक हिसाबले मेरो लागि यो सिनेमा पाठशाला जस्तै रह्यो । अग्रज कलाकारहरूसँग काम गर्न पाउँदा नजानेका धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाएँ ।’

सिनेमामा दिव्यासहित विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो सिनेमामा समावेश ‘धागोले बाटेको’ र ‘हुम्लाको लिमी’ गीत यतिबेला चर्चामा छन् ।

माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ । उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको सिनेमाका कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको सिनेमाका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् ।

सिनेमामा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ । मानकृष्ण महर्जनकोे डीओपी रहेको सिनेमामा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको सिनेमा दर्शकको प्रतिक्षामा छ ।