द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २७ गते शुक्रबार नेपाली नयाँ वर्षको छेको पारेर टिकटकर आयुष सिंह ठकुरीको डेव्यु सिनेमा ‘राम नाम सत्य’ प्रदर्शनमा आउने भएको छ । सिनेमाको रिलिजको केही दिन अगाडि आयुष मिडियासँगको अन्तरक्रियामा उपस्थित भएका हुन् ।
आयुष यो सिनेमालाई लिएर निकै उत्साहित सुनिए । उनले भने ‘यो सिनेमाको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई धेरै सिनेमाको अफर नआएको होइन । तर, ‘राम नाम सत्य’को कथाले तान्यो र काम गर्न तयार भएँ ।’
सिनेमाभित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ । ‘मैले बोलेका एउटा संवाद ट्रेलरमा समावेश छ । यो ट्रेलर आउँदा मेरो परिवार र आफन्तले नै मेरो बोली चिन्नु भएन । पछि मैले नै यो संवाद मेरो हो भनेर भन्दा धेरै छक्क पर्नु भएको थियो । सिनेमाका लागि निकै मिहिनेत गरेको छु,’ उनले भने ।
आयुषले अहिले नै आफूले सिनेमाको व्यापारबारे नसोचेको तर्क गर्छन् । दर्शकले सुरुवातमा आफ्नो काम मन पराउन आवश्यक रहेको उनले बताए । टिकटकमा लाखौं फलोअर्स कमाएका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ । यो बिषयमा आयुष भन्छन्, ‘विदेशमा बस्ने धेरै नेपालीहरुले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ । दर्शक सिनेमाप्रति नै उत्साहित रहेको पाएको छु ।’
आयुषले सिनेमाको सिक्वेल बन्ने जानकारी दिएका छन् । ‘राम नाम सत्य’को सिक्वेल पनि बन्दैछ । सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने वुझ्नका लागि पनि दर्शकले राम नाम सत्यको पहिलो भाग छुटाउन हुँदैन्,’ उनले भने ।
आयुषले यो सिनेमाका लागि आफूले शतप्रतिशत मिहिनेत गरेको सुनाए । सिनेमामा कथावस्तु बलियो रहेको, सस्पेन्स-थ्रिलर कथा रोचक रहेको सुनाउँदै आयुषले हरेक कोणबाट सिनेमाले दर्शकलाई मनोरञ्जन दिने तर्क गरेका छन् ।
आयुषले अब निरन्तर सिनेमा क्षेत्रमा काम गर्ने संकेत गरेका छन् । ‘मैले अझै मिहिनेत गर्नुछ । आफूलाई तयार गर्नुछ । यसैले, हतार गरेर काम गरिहाल्छु भन्दिनँ । तर, अब निरन्तर यही क्षेत्रमा अगाडि भने बढ्छु,’ उनले भनेका छन् ।
माइकल चन्दको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । सिनेमामा आयुषसहित विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, सुधिर श्रेष्ठ, रमेश चन्द सोडारी, खुशी कार्की लगायतका कलाकारको अभिनय छ ।
डान्सिङ रियालिटी शोबाट आएकी खुशीको पनि यो डेव्यु सिनेमा हो । नेपाली नयाँ वर्षमा सोलो रिलिज हुन लागेको सिनेमाले बम्पर ओपनिङ गर्ने विश्लेषण वितरकको छ ।


प्रतिक्रिया