जन्मदिनमा अल्लू अर्जुनको एट्ली निर्देशित सिनेमा ‘राका’ घोषणा, कहिले हुँदैछ रिलिज ?

जन्मदिनमा अल्लू अर्जुनको एट्ली निर्देशित सिनेमा ‘राका’ घोषणा, कहिले हुँदैछ रिलिज ?

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको जन्मदिनको अवसर पारेर नयाँ सिनेमाको टाइटल घोषणा गरिएको छ । उनको मुख्य भूमिका रहेको २२ औं सिनेमाको नाम ‘राका’ राखिएको हो । सिनेमाको फर्स्टलुक र टाइटल सार्वजनिक भएसँगै फ्यान उत्साहित देखिएका छन् ।

दक्षिण भारतका सफल निर्देशक एट्लीले निर्देशन गरेको यो सिनेमाको प्रदर्शन मिति भने घोषणा गरिएको छन् । उनले यसअघि बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड सिनेमा ‘जवान’बाट आफुलाई उत्तर भारतमा समेत स्थापित गरेका हुन् । त्यसअघि उनी तमिल सिनेमाका सफल निर्देशक हुन् । हालसम्म् एट्लीका कुनैपनि सिनेमा बक्सअफिसमा असफल भएका छैनन् ।

अल्लू अर्जुनको ४४औं जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा उनी फरक र डरलाग्दो लुक्समा देखिएका छन् । जंगली भालुको जस्तो देखिने लामो नङ र रौँले ढाकिएको पञ्जाले उनले आफ्नो आधा अनुहार छोपेका छन् । टाउकोमा उनको कपाल पनि आधा मात्र देखिन्छ । उनको यो लुक्सले पात्रलाई रहस्यमय, आक्रामक र प्रभावशाली बनाएको छ ।

‘राका’मा अल्लू अर्जुनको जोडी दीपिका पादुकोणसँग बाँधिनेछ । उनीहरूले पहिलो पटक सिनेमामा सहकार्य गर्न लागेका हुन् । रश्मिका मन्दना, मृणाल ठाकुर, जान्हवी कपूर, राम्या कृष्णन र योगी बाबुको पनि अभिनय रहने बताइएको यस सिनेमाको निर्माण लागत भारु ४ सय करोड अनुमान गरिएको छ । निर्माताले सिनेमाको भिएफएक्सका लागि सबैभन्दा ठूलो बजेट छुट्याएका छन् ।

निर्देशक एट्लीले ‘राका’लाई सिनेमा मात्र नभइ आफ्नो सपना भनेका छन् । ‘यो प्रोजेक्ट मेरो दिलसँग एकदमै नजिक छ । ‘राका’को विचार मसँग करिब १८ वर्षदेखि जोडिएको छ । यो केवल सिनेमा मात्र होइन, एउटा सपना हो,’ उनले हालै एक अन्तर्वार्तामा भनेका थिए । ‘राका’ भारतीय सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाउने दिशामा ठूलो कदम सावित हुने निर्देशक एट्लीको विश्वास छ ।