द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको छेको पारेर भोली शुक्रबारबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राम नाम सत्य’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको ‘आ बाट आमा’ पछिका सबै सिनेमाको निराशाजनक व्यापारले अन्योल र चिन्ताको अवस्था सिर्जना भइरहँदा आशाको केन्द्रमा ‘राम नाम सत्य’ छ ।
यो सिनेमामा कलाकारको ‘लाइनअप’ बलियो भएकाले बक्सअफिसमा बम्पर ब्यापारको अपेक्षा गरिएको छ । यसैले हलहरूले पनि सिनेमालाई उच्च शो उपलब्ध गराएका छन् । बिहीबार मध्यान्हसम्म सिनेमाले देशव्यापी १४८ वटा शो पाएको खल्ती एपमा देख्न सकिन्छ । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र सिनेमालाई शुक्रबारका लागि काठमाडौंमा २७ र मोफसलमा ३७ गरी देशव्यापी ६४ शो दिएको छ ।
यता, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले २३ शो, बिग मुभिजले ५ शो, एफक्युब सिनेमाजमा ५ शो, बिएसआर मुभिजमा ५ शो, रञ्जना सिनेप्लेक्समा ५ शो, वान सिनेमाजमा १० शो उपलब्ध गराएका छन् । अझै केही हलमा बुकिङ खुल्न बाँकी रहेकाले सिनेमाको शो २ सय हाराहारी पुग्ने देखिन्छ ।
यो सिनेमाको ‘धागोले बाटेको’ र ‘हुम्लाको लिमी’ गीत यतिबेला चर्चामा छन् । टिकटकमा त यी गीत भाइरल नै बनेका हुन् । सिनेमाको एक्सनप्रधान ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । यी संकेतहरू हेर्दा सिनेमाले ठूलो दर्शक वर्गलाई हलसम्म आकर्षित गर्न सक्ने देखिन्छ । त्यसमाथि एकल प्रदर्शनको अवसर र नयाँ वर्ष छेकोमा रहेकाले सिनेमाका लागि व्यापारिक रूपमा अनुकूल अवस्था देखिएको छ ।
माइकल चन्दको निर्देशनमा निर्माण भएको सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, नेहा आरएल शाह लगायतको अभिनय रहेको छ । सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् ।


प्रतिक्रिया