द सिनेमा टाइम्स, काठमाडौं । यतिवेला नेपाली हलमा विराज भट्टको मुख्य भूमिका रहेको सिनेमा ‘राम नाम सत्य’ दर्शकको उत्कृष्ट प्रतिक्रिया सहित प्रदर्शनरत छ । दर्शकको साथ र उत्कृष्ट वर्डअफ माउथ पाएसँगै निर्देशक माइकल चन्द अहिले सिनेमाका सबैजसो मुख्य कलाकारसहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिन व्यस्त छन् ।
सिनेमा मुख्य अभिनेता विराज भट्ट पनि ‘१२ गाउँ’ पश्चात आफ्नो मुख्य भूमिका रहेको सिनेमा ‘राम नाम सत्य’ भएकाले पनि उनी विभिन्न हलमा पुगेर दर्शक साक्षात्कारमा व्यस्त देखिन्छ । दर्शक प्रतिक्रियाले आफुलाई उत्साहित बनाएको उनी बताउँछन् । ‘दर्शकले सिनेमाको कथावस्तु र एक्सन पक्षलाई निकै रुचाइदिनु भएको छ । मैलै आगामी सिनेमामा अझै राम्रो कथा र एक्सनमा आफुलाई प्रस्तुत गर्नुपर्ने चुनौती थपिएको छ,’ उनले भने ।
निर्देशक माइकल र अभिनेता भट्टसहित अभिनेत्रीद्धय सुपुष्पा भट्ट, खुशी कार्की, अर्का अभिनेता सुशील श्रेष्ठ, टिकटक अभिनेता आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार कनिज कोइराला लगायत पनि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शुक्रबार र शनिबार राम्रो व्यापार गरेको सिनेमाको आज आइतबार पनि सार्वजनिक विदा भएकाले विहानी शोबाटै दर्शकको उपस्थिती हलमा राम्रो देखिएको छ ।
आइतबार दर्शकको राम्रो चाप हलमा देखिएसँगै निर्माण टिम विहानी शोमै भक्तपुरस्थित राधेराधेमा अवस्थित क्युएफएक्स हल पुगेर दर्शक साक्षात्कार गरेको छ । यसपछि विभिन्न हलमा पुगेर दर्शक भेट्ने योजना रहेको निर्देशक माइकल चन्द बताउँछन् । नयाँ वर्षको छेको रिलिज भएकाले पनि सिनेमाले वैशाख १ गते बम्पर व्यापार निर्दे विश्वास निर्माण टिमको छ ।
सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की, दिनेश डिसी, सुधीर श्रेष्ठ, सन्तोष सरकार लगायतको अभिनय रहेको छ । सिनेमामा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता तथा मोती कार्की क्रियटिभ निर्मातामा छन् ।
माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्देशक चन्द स्वयंको लेखन रहेको सिनेमामा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन, सियोन श्रेष्ठको कोरियोग्राफी, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पार्श्व संगीत छ ।


प्रतिक्रिया