द सिनेमा टाइम्स, काठमाडौं । भारतीय संगीतकी सर्वोत्कृष्ट गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार रातिबाट आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
संगीतको ७ दशकभन्दा लामो यात्रामा उनले हजारौँ गीत गाएर भारतीय मात्र होइन, विश्व संगीतमा समेत गहिरो प्रभाव छोडेकी थिइन् । उनका गीतहरू पुस्तौँसम्म लोकप्रिय रहँदै आएका छन् । भारतीय संगीतले उनको निधनसँगै एउटा महत्वपूर्ण युग गुमाएको छ । गायिका भोसलेको निधनको खबर उनका छोरा आनन्दले आइतबार दिउँसो पुष्टि गरेका हुन् ।
भोलि सोमबार उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । भारतीय सिनेमाकी सबैभन्दा सफल, लोकप्रिय र अत्यन्तै सक्रिय गायिकामध्ये एक भोसलेको स्थान बलिउड सिनेमा संगीतमा उनकी दिदी स्वर्गीय लता मंगेशकरसँग मात्र तुलना गरिन्थ्यो । सन् १९३३ मा मंगेशकर परिवारमा जन्मिएकी आशाले ९ वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा गायन सुरु गरेकी थिइन् ।
आशा भोसलेले सन् १९४३ मा पहिलो सिनेमाको गीत रेकर्ड गरेकी थिइन् भने १९५० को दशकसम्म आइपुग्दा बलिउडमा आफ्नै पहिचान स्थापित गरिसकेकी थिइन् । त्यसपछिका तीन दशकसम्म उनी अधिकांश संगीतकारको रोजाइकी गायिका बनेकी थिइन् ।
सुरुआती समयमा उनलाई नृत्यप्रधान गीतमा मात्र सीमित गरिए पनि उनले आफ्नो दायरा फराकिलो बनाउँदै ‘उमराव जान’ जस्ता सिनेमामा गजल गायनमा पनि उत्कृष्टता देखाइन् । उनी फिल्मफेयर उत्कृष्ट महिला पार्श्वगायनतर्फ सात पटक सम्मानित भएकी थिइन् । साथै, ‘उमराव जान’को ‘दिल चीज क्या है’ र ‘इजाजत’को ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय सिनेमा पुरस्कार जितेकी थिइन् ।


प्रतिक्रिया