द सिनेमा टाइम्स, काठमाडौं । गत चैत्रको २७ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘राम नाम सत्य’ले बक्सअफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् ।
शनिबारसम्म विकास बोर्डको आँकडामा सिनेमाको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाई छ ।
यो सिनेमाले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट यो सिनेमा २०० शोज सहित चल्दैछ । निर्माणपक्षले अमेरिकामा सिनेमालाई शेयर प्रतिशतमा विक्री गरेको हो । अमेरिकाबाट पनि सिनेमाका निर्माताले राम्रो रकम प्राप्त गर्ने अपेक्षा गरेका छन् ।
ओएसआर डिटिजलबाट सिनेमालाई ७२ लाख रुपैयाँ प्राप्त भएको जानकारी निर्देशक माइकल चन्दले दिएका छन् । डिजिटल राइट्स ७२ लाखमा विक्री गरेकाले पनि निर्माणपक्षलाई फाइदा भएको देखिन्छ । करिब ३ करोड बजेटमा निर्माण भएको सिनेमाबाट आफूहरु सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दको दाबी छ ।
श्वेता विमली र उपेन्द्र शाहीको लगानी रहेको सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाको व्यापारबाट उत्साहित भएको निर्माणपक्षले बताएको छ ।
पछिल्लो समयमा रिलिज भएका नेपाली सिनेमाले व्यापार सुखद नगरिरहेको समयमा ‘राम नाम सत्य’ले बक्स अफिसमा आशा जगाएको छ ।


प्रतिक्रिया