थलापति विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

थलापति विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भारतको तमिलनाडु राज्यको मुख्यमन्त्री तमिल सुपरस्टार थलापति विजय बनेका छन् । आइतबार बिहान १० बजे चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा उनले मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनलाई शनिबार तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

विधानसभाको २३ अप्रिलमा भएको चुनावी नतिजापछि तमिलनाडुको मुख्यमन्त्री को बन्ने भन्ने विषयमा लामो समयदेखि सस्पेन्स कायम थियो । विजयले नेतृत्व गरेको पार्टी तमिलगा वेत्री कजगम (टिभीके)ले सबैभन्दा धेरै सिट (२३४ सिटमा १०८ सिट) जितेको भए पनि सरकार बनाउन बहुमत पुगेको थिएन । तमिलनाडु राज्यमा सरकार बनाउनका लागि जादुयी आँकडा ११८ हो ।

बहुमत नजुटेका कारण विजयलाई सरकार बनाउन कठिन भएपछि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिगले ‘टिभीके’लाई बिना शर्त समर्थन दिए । यसपछि विजयको पक्षमा १२१ सिट पुग्यो, जुन तमिलनाडुमा सरकार बनाउन चाहिने बहुमत संख्याभन्दा बढी हो ।

विधानसभा चुनावमा दुई क्षेत्रबाट जित हासिल गरेका विजय ५९ वर्षपछि तमिलनाडुको पहिलो गैर–द्रविडियन मुख्यमन्त्री बनेका हुन् । तर, तमिलनाडुमा कलाकार मुख्यमन्त्री बनेको यो पहिलो पटक भने होइन । यसअघि कलाकारिता पृष्ठभूमिबाट एम. जी. रामचन्द्रन, जे. जयललिता र वी. एन. जानकी रामचन्द्रन तमिलनाडुको मुख्यमन्त्री बनिसकेका छन् ।

तमिलनाडुको मुख्यमन्त्री बन्ने चौथो कलाकार बनेका विजयले आफ्नो अभिनय करिअरमा ६० भन्दा बढी सिनेमामा अभिनय गरेका छन् । उनले ४ महिनाअघि ३३ वर्ष लामो अभिनय करिअरबाट सन्यास लिएको घोषणा गरेका थिए । अब उनी पूर्ण रूपमा राजनीतिमा सक्रिय हुनेछन् । उनको अन्तिम सिनेमा ‘जन नायगन’ कानुनी झमेलामा फसेका कारण प्रदर्शन हुन सकेको छैन् ।

थलापति विजयले आफ्नो सिनेमा करियर १८ वर्षको उमेरमा सुरु गरेका थिए । उनको पहिलो सिनेमा ‘नालय थिरपू’ सन् १९९२ मा प्रदर्शन भएको थियो । उनलाई ठूलो व्यावसायिक सफलता भने सन् २००४ मा आएको सिनेमा ‘घिल्ली’बाट मिल्यो । यसपछि उनका सिनेमाहरू श्रृंखलाबद्ध रूपमा सफल भए । जसले उनलाई दक्षिण भारतीय सिनेमाको ‘मास हिरो’ बनाएको थियो ।