द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘गौँथली’को हालै सार्वजनिक गरिएको ट्रेलरमा छोरीको सपना र समाजको दबाबबीचको संघर्षलाई केन्द्रमा राख्दै भावनात्मक र सामाजिक यथार्थ प्रस्तुत गरिएको छ । जसअनुसार सिनेमाको कथा शिक्षा, बालविवाह, पारिवारिक अपेक्षा र वैवाहिक जीवनभित्रका उतार-चढावलाई जोडेर ग्रामीण समाजको कठोर यथार्थ चित्रण गरिएको देखिन्छ ।
ट्रेलरको सुरुवातमै मदनकृष्ण श्रेष्ठको पीडादायी अभिव्यक्तिले दर्शकको ध्यान तान्छ, जहाँ उनी शिक्षकको भूमिकामा देखिएका छन् । आफ्नो अवकाश सकिने समयसम्म पनि एकजना छोरीलाई पनि एसएलसी दिनेसम्म पुर्याउन नसकेकोमा पश्चाताप व्यक्त गर्छन् । यसले नेपाली समाजमा छोरीको शिक्षा र अवसरप्रतिको सीमित सोचलाई उजागर गर्छ । त्यसपछि सिनेमाकी मुख्य पात्र गौँथलीले आफूले एसएलसी पास गर्ने बताएको दृश्यले उनको आत्मविश्वास र भविष्यप्रतिको आशा प्रस्तुत गर्छ ।
गौथलीले पढाइप्रति आफ्नो रुचि देखाउँछिन् भने उनकी आमाले त्यसलाई व्यवहारिक पक्षसँग जोडेर प्रश्न गर्छिन् । यसैबीच, गाँैथलीले ‘म बिहे गर्दिन’ भन्ने निर्णय व्यक्त गरे पनि पारिवारिक दबाबका कारण उनको विवाह तय हुन्छ, जसले कथामा पहिलो ठूलो मोड ल्याउँछ । छोरीको बिदाइको दृश्य ट्रेलरको सबैभन्दा भावनात्मक पक्ष बनेको छ । आमाले ‘घरको इज्जत तिम्रो हातमा छ’ भन्दै छोरीलाई बिदा गर्दा बुबाले पनि आफ्नी छोरीप्रतिको माया र पीडा सम्धीसँग बिन्ती गर्छन् ।
यो दृश्यले नेपाली समाजमा छोरी बिदाइसँग जोडिएको संस्कृतिक भावनात्मकता र जिम्मेवारीको बोझलाई गहिरो रूपमा देखाउँछ । विवाहपछि गाँैथलीको जीवन थप जटिल बन्छ । सासुको कठोर व्यवहार, घरको कामसँगै पढाइको चाहना पूरा गर्नुपर्ने बाध्यता र सामाजिक दबाबले उनको जीवन संघर्षपूर्ण बनाउँछ । घाँस काट्दै, बाख्रा चराउँदै किताब पढ्ने र लेख्ने जस्ता दृश्यहरूले उनको दृढता र आत्मबललाई देखाउँछ ।
यसैबीच, उनको श्रीमानको अनौठो व्यवहारले कथामा रहस्य र फरकपन थप्छ । बच्चाजस्तो व्यवहार, असामान्य क्रियाकलाप र भावनात्मक अस्थिरताले उनको चरित्रलाई सामान्यभन्दा फरक रूपमा प्रस्तुत गर्छ । यद्यपि, दुवैबीच कहिलेकाहीँ देखिने सहयोग र सानो-सानो भावनात्मक नजिकपनले सम्बन्धभित्रको मानवीय पक्ष पनि झल्काउँछ ।
र अन्त्यतिर गौँथली र उनका श्रीमानबीचको भावनात्मक संवादले ट्रेलरलाई केवल पीडामा मात्र सीमित नराखी प्रेम र पुनर्मिलनको सम्भावनासमेत देखाएको छ । समग्रमा, ‘गौँथली’को ट्रेलरले छोरीको सपना, सामाजिक दबाब, पारिवारिक संरचना र वैवाहिक सम्बन्धभित्रका जटिलतालाई गहिरो रूपमा प्रस्तुत गरेको छ ।
ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जितेको छ । सार्वजनिक भएको केही दिनमै ट्रेलरले मुभी चार्टको ट्रेन्डिङ ६ औँ स्थानमा प्रवेश गरेको छ । सो अवधिमा ट्रेलरले ४ लाख ४६ हजारभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको छ ।
डाक्टर भोला रिजालको कथामा निर्माण भएको सिनेमामा सिम्रन र अरुणसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, सीतादेवी तिमिल्सिना, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् । सरला रिजाल कार्यकारी निर्माताको रूपमा छिन् । सिनेमामा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा कपिल रिजाल, निश्चल कुँवर, अभिमन्यू निरवी, शिव शर्मा, निरज नेपाल र गिरिराज घिमिरेको पटकथा तथा संवाद लेखन रहेको छ ।


प्रतिक्रिया