समाज र नागरिकको जिम्मेवारीमाथि केन्द्रित प्रकाश सपुतको गीत ‘कर्तव्य’

समाज र नागरिकको जिम्मेवारीमाथि केन्द्रित प्रकाश सपुतको गीत ‘कर्तव्य’

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सामाजिक विषयवस्तुलाई संगीतमार्फत बहसको केन्द्रमा ल्याउँदै आएका गायक तथा सर्जक प्रकाश सपुतले ‘कर्तव्य’ बोलको गीत सार्वजनिक गरेका छन् । ‘मेरो पनि हैन र यो देश’ को सिक्वेलको रूपमा उनले यो गीत सार्वजनिक गरेका हुन् ।

गीतमा शब्द, संगीत र स्वर स्वयं प्रकाशकै रहेको छ । ‘कर्तव्य’ मार्फत गीतमा उनले अधिकारभन्दा कर्तव्यको प्रश्नलाई केन्द्रमा राखेका छन् । गीतमार्फत उनले देशप्रेम नारामा मात्र सीमित नरहने भन्दै परिवर्तनका लागि राज्यसँगै नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने सन्देश दिन खोजेको छ ।

गीतका शब्दहरूले देशप्रेमलाई भावनात्मक अभिव्यक्तिमा सीमित नगरी व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । लोकतन्त्र र गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न सरकार, राजनीतिक नेतृत्व र नागरिक सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने सन्देश बोकेको छ ।

विकासका आधारभूत पक्षहरू – गाउँसम्म शिक्षा, स्वास्थ्य, सडक र पुलको पहुँच, सुकुम्बासी व्यवस्थापन, कृषि, उद्योग, पर्यटन र उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन तथा कर्णाली र काठमाडौंबीच विकास असन्तुलनजस्ता विषय गीतका मुख्य विषयवस्तु बनेका छन् । यसले विकासको बहसलाई राजनीतिक भाषणभन्दा जनजीवनसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ ।

यसका साथै, गाउँबाट बसाइँसराइ, श्रमप्रतिको दृष्टिकोण, जातीय विभेद, हुण्डी कारोबार र विदेशबाट फर्केर स्वदेशमै केही गर्ने सम्भावनाजस्ता विषय समेटिएका छन् । यसले परिवर्तनको सम्पूर्ण जिम्मेवारी राज्यमाथि मात्र थोपर्ने प्रवृत्तिलाई चुनौती दिँदै नागरिकलाई पनि आत्मसमीक्षाका लागि आग्रह गरेको छ ।

लोकतन्त्रलाई बलियो बनाउन प्रश्न गर्ने अधिकार सुरक्षित रहनुपर्ने र निरन्तर विरोधभन्दा रचनात्मक सुझाव तथा सहकार्य आवश्यक हुने विचारलाई पनि गीतले स्थान दिएको छ । सांगीतिक हिसाबले गीत लोक भाकासँग आधुनिक प्रस्तुति मिसाइएको छ। सामूहिक कोरसले गीतलाई अभियानमूलक स्वर दिएको छ भने भिडियोको संरचनाले सन्देशलाई थप प्रभावकारी बनाएको छ ।

गीतको भिडियोमा अन्तर्वार्ता शैली अपनाइएको छ, जहाँ अनागरिक समूहबाट राजनीतिमा प्रवेश गरेर झण्डै माननीय बन्न पुगेको पात्रलाई प्रश्नहरूको सामना गरिरहेको देखाइन्छ । उक्त पात्र अरू कोही नभई स्वयं प्रकाश नै हुन् । त्यसपछि भिडियो गीत-प्रस्तुतिको स्वरूपमा अगाडि बढ्छ, जहाँ सपुतले कोरससहित आफ्नो प्रस्तुति दिन्छन् । पूर्वका चिया बगानदेखि सुदूरपश्चिमका सांस्कृतिक परम्परासम्म सपुतले भिडियोमा कैद गर्न सफल भएका छन् । प्रस्तुतिको यो शैलीले गीतलाई परम्परागत म्युजिक भिडियोभन्दा फरक बनाएको छ ।

गलबन्दी प्रोडक्सन प्रालिले निर्माण गरेको गीतको संगीत संयोजन, ब्याकग्राउन्ड स्कोर र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोमा प्रकाश स्वयं स्वयं अभिनय गरेका छन् । प्रकाशकै कन्सेप्ट र निर्देशनमा बनेको गीतको भिडियो हरि हुमागाईं र सुनिल बिक एन्ड टिमको छायांकन र प्रवीण भट्टको सम्पादनमा बनेको छ ।