‘ककाकिकी’को पहिलो झलक टिजर सार्वजनिक

‘ककाकिकी’को पहिलो झलक टिजर सार्वजनिक

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ककाकिकी’को पहिलो झलक (टिजर) सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक फर्स्टलुक भिडियोले पात्रहरूको चरित्र चित्रण गर्दै कथाको सेटिङबारे प्रकाश पार्ने प्रयास गरेको छ । सार्वजनिक फर्स्टलुकले सिनेमाको कथावस्तुबारे केही खुलाएको छैन् ।

सिनेमाको सार्वजनिक टिजरको केन्द्रमा चार मुख्य कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी छन् । उनीहरू आफ्नो गाउँ ‘कुलेबारी’का लागि एउटा योजना बनाइरहेको देखिन्छन् । पात्रहरूका संवादले उक्त योजना जोखिमपूर्ण रहेको संकेत गर्छ । टिजर हेर्दा सिनेमाले सामाजिक विषयवस्तुलाई हास्य शैलीमा प्रस्तुत गरेको देखिन्छ ।

माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । सिनेमालाई ‘कमेडी दरबार’का निर्देशकद्धय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले निर्देशन गरेका हुन् ।

यो सिनेमाको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । पटकथा बिक्की स्वयंको हो । सिनेमाको निर्मातामा श्रृद्धा प्रसाईं र ओएसआर डिजिटलकी सञ्चालक सुमित्रा थापा रहेकी छन् । सुदिप बरालको छायांकन रहेको सिनेमामा मिलन बिक्रम शाहको सम्पादन तथा शिशिर ठटालको पार्श्व संगीत रहेको छ ।