पारस र दिव्याको ‘बेहुली’ भदौ २६ गते हरितालिका तीजमा रिलिज हुने

पारस र दिव्याको ‘बेहुली’ भदौ २६ गते हरितालिका तीजमा रिलिज हुने

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सशान कँडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘बेहुली’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २६ गते हरितालिका तीजलाई नयाँ प्रदर्शन मितिका रुपमा घोषणा गरिएको हो । यसअघि यो सिनेमा भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो ।

सोमबार प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरमा सिनेमाका मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझी प्रस्तुत छन् । बेहुलीको पहिरनमा रहेकी दिव्या पारसको अंगालोमा बाँधिएकी छन् । पारसको हातमा भने हतकडी देखिन्छ । यसले उनीहरूको प्रेम सम्बन्धमा आउने गम्भीर संकटलाई संकेत गरेको छ ।

‘होस्टेल ३’का निर्देशक कँडेलको निर्देशित सिनेमामा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, धनश्याम जोशी, सविन कट्टेल, दीपक गौली, विमल अनुविनय यादव, अविरल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । सुशान्तले यही सिनेमाबाट ५ वर्षपछि कमब्याक गरेका हुन् ।

संगीतकार अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता प्रताप शम्सेर राणा हुन् । शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माताको रूपमा छन् । सह-निर्माता भने दुर्गा खरेल र शिशिर श्रेष्ठ हुन् । सिनेमामा माधव शर्माको लेखन, अर्जुन पोखरेलको संगीत, नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।