‘न्याय देऊ कि जेल हालिदेऊ’ : धुर्मुसको सरकारसँग भावुक अपिल, ‘यसरी जिउँदै नमार्नुस्’

‘न्याय देऊ कि जेल हालिदेऊ’ : धुर्मुसको सरकारसँग भावुक अपिल, ‘यसरी जिउँदै नमार्नुस्’

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणसँग जोडिएको दायित्व भुक्तानीको विवाद समाधान गर्न सरकारसँग पुनः भावुक अपिल गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले पाँच वर्षभन्दा लामो समयदेखि न्यायको खोजीमा विभिन्न सरकारी निकाय धाउँदा पनि कुनै निकास ननिस्किएको गुनासो गरेका हुन् ।

धुर्मुसले नयाँ सरकार गठन भएपछि समस्या समाधान हुने आशा बोकेर स्वदेश फर्किएको एक महिना बितिसक्दा पनि आफूले अपेक्षा गरेअनुसार कुनै निर्णय नभएको बताए । उनले प्रधानमन्त्री कार्यालय, कानुन तथा न्याय मन्त्रालय, सम्बन्धित मन्त्रालय तथा भरतपुर महानगरपालिकासम्म पुगेर पटक-पटक न्यायको याचना गरे पनि समस्या यथावत् रहेको दाबी गरे ।

धुर्मुसले अगाडी भने ‘यदि हामीले कुनै गल्ती गरेका छौँ भने जुनसुकै सजाय भोग्न तयार छौँ । जेल जान पनि तयार छौँ । यदि हामीलाई न्याय दिन सकिँदैन भने जेल हालिदिनुस्, तर यसरी जीउँदै मार्ने काम नगर्नुस् ।’

धुर्मुसका अनुसार संघीय सरकारले बजेटमार्फत शीर्षक तोकेर भरतपुर महानगरपालिकाको खातामा पठाएको १५ करोड रुपैयाँ एक वर्षसम्म निकासा नहुँदै फ्रिज भएको छ । त्यसका कारण रंगशाला निर्माणमा सामग्री उपलब्ध गराएका आपूर्तिकर्तालाई भुक्तानी गर्न नसक्दा आफूहरू गम्भीर आर्थिक र मानसिक समस्यामा परेको उनले बताए ।

धुर्मुसले स्वतन्त्र लेखापरीक्षणबाट करिब १८ करोड ४३ लाख रुपैयाँ दायित्व रहेको पुष्टि भएको दाबी गर्दै उक्त रकम अधिकांश चितवनका आपूर्तिकर्तालाई सिधै भुक्तानी गर्न आफूहरूले पटक–पटक आग्रह गरेको बताए । तर विभिन्न मन्त्रालयको राय आवश्यक रहेको भन्दै पुनःप्रक्रिया लम्ब्याइएको उनको आरोप छ ।

त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट भएको प्राविधिक मूल्यांकनमा आफूहरूले निर्माण गरेको संरचनाको मूल्य करिब ६० करोड रुपैयाँ देखाइएको उल्लेख गर्दै उनले आफ्नो फाउन्डेसनको वास्तविक खर्च ५७ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको बताए । तर अनुसन्धानमा आफूहरू प्राविधिक संस्था नभए पनि निर्माणको गुणस्तरमा कुनै कैफियत नदेखिनु गर्वको विषय भएको उनको भनाइ छ ।

धुर्मुसले भनेका छन् ‘हामी आफैँ प्राविधिक नभए पनि प्राविधिक मूल्याङ्कनमा कतै कैफियत नदेखिनुमा हामी गर्व गर्छौँ ।’ यसका साथै उनले अमेरिकामा छोरीको उपचारका लागि जानुपरेको अवस्थासमेत स्मरण गर्दै धुर्मुसले त्यस अवधिमा आफूविरुद्ध ‘रंगशालाको पैसा दुरुपयोग गरेर अमेरिका पुगे’, ‘ग्रीन कार्ड किने’ वा ‘ग्यास स्टेशन सञ्चालन गरे’ जस्ता भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरे । त्यस्ता आरोपले आफ्नो परिवार थप मानसिक तनावमा परेको उनले बताए ।

धुर्मुसले रंगशाला निर्माणको विषय राजनीतिकरण नभएको भए परियोजना दुई वर्षअघि नै सम्पन्न हुने दाबी गर्दै राज्यले आफ्नो प्रतिबद्धता पूरा नगरेको आरोप लगाए । यद्यपि हाल रंगशाला निर्माणको काम अघि बढिरहेकोमा उनले सरकारलाई शुभकामना दिँदै आफूहरूलाई न्याय दिलाउन आग्रह गरे । उनले भनेका छन् ‘हामी बाँच्न चाहन्छौँ । यही देशको माटोमा बाँच्न र यहीँ मर्न चाहन्छौँ । कृपया हामीलाई यो भड्खालोबाट निकालिदिनुस् ।’

धुर्मुसले आफूहरू कुनै राजनीतिक दलसँग आबद्ध नभएकै कारण आफ्नो आवाज कमजोर बनेको अनुभूति भएको पनि बताए । यदि कुनै दलसँग आबद्ध भएको भए आफ्नो मुद्दा संसदसम्म पुग्ने अवस्था हुने उनको भनाइ थियो । सरकारले आवश्यक ठाने थप अनुसन्धान गर्नुपर्ने भए त्यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफूहरूलाई बाहिर राखेर होइन, आवश्यक परे हिरासत वा जेलमै राखेर अनुसन्धान गर्न उनले आग्रह गरे ।

‘अनुसन्धान गर्नुपर्छ भने बाहिर होइन, भित्रै राखेर गर्नुस् । हामी जेल जान तयार छौँ । तर यसरी अनिश्चिततामा राखेर जीउँदै मार्ने काम नगरियोस्,’ उनले भनेका छन् । धुर्मुसले अन्त्यमा वर्तमान सरकारले अन्यायमा परेका नागरिकको अभिभावकको भूमिका निर्वाह गर्दै आफ्नो समस्या समाधान गरिदिने अपेक्षा व्यक्त गरेका छन् ।