द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार सुमन कोइराला सिनेमाको हिरो बन्ने भएका छन् । ‘दले दाइ’को रूपमा परिचित उनले सिनेमा ‘तिरिमिरी झ्याइँ’बाट नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् । यो सिनेमाको बिहीबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा वैदिक विधिअनुसार पूजाआजा गर्दै शुभ मुहूर्त गरियो । सिनेमाको छायांकन असार २९ गतेबाट सुरु हुने जनाइएको छ ।
होराइजन मोसन पिक्चर्सको ब्यानरमा प्रद्युम्न बोगटी (प्रवीन)ले सिनेमालाई निर्माण गर्नेछन् । समीरको डेब्यू निर्देशनमा निर्माण हुन लागेको सिनेमामा सुमनसहित धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारको अभिनय रहनेछ ।
भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह-निर्माता रहेको सिनेमाको कथा तथा कन्सेप्ट आभास अधिकारीको हो । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले पटकथा तथा संवाद तयार पारेका हुन् । सिनेमालाई विशाल कक्षपतिको छायांकन गर्नेछन् । संगीत अभिषेक कार्कीको रहनेछ ।
यो सिनेमाको शुभमुहूर्त कार्यक्रममा बोल्दै निर्देशक समीरले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने र हास्यव्यङ्ग्यको नयाँ अनुभव दिने दाबी गरेका थिए । निर्माता बोगटीले एउटा उत्कृष्ट कमेडी सिनेमा बनाउने उद्देश्यका साथ निर्माण अघि बढाइएको बताए । कथाकार तथा कार्यकारी निर्माता आभास अधिकारीले समाजका रमाइला र ठट्यौली घटनाक्रमलाई सिनेमामा प्रस्तुत गरिने जानकारी दिए ।



प्रतिक्रिया