द सिनेमा टाइम्स, काठमाडौं । राजीव गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘आशा’को निर्माण घोषणा गरिएको छ । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । यसअघि उनले थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो सिनेमाको औपचारिक रूपमा निर्माण घोषणा गर्दै आगामी माघ १ गते (माघे संक्रान्ति)लाई प्रदर्शन मिति घोषणा गरियो ।
शर्मिला थापाको लगानीमा निर्माण हुन लागेको सिनेमामा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा महेश र अञ्जनाको जोडी बाँधिनेछ । यसअघि उनीहरूले सिनेमा ‘परान’मा एकसाथ काम गरेका थिए ।
निर्देशक गुरुङ स्वयंको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत तथा किशोर आचार्यको साउण्ड डिजाइन रहनेछ । यसमा सह–लेखन रामकुमार श्रेष्ठको रहेको छ भने कलाकार चयन सुदाम सिकेले गरेका हुन् । सिनेमाको पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गर्नेछन् ।
सिनेमाको घोषणा कार्यक्रममा बोल्दै निर्देशक गुरुङले ‘आशा’ मनोरञ्जन र सन्देशले भरिएको सिनेमा हुने बताए । उनले भने, ‘यो एउटा परिवारको कथा हो । यो कथालाई पर्दामार्फत दर्शकसामु लैजानुपर्छ भन्ने सोचले सिनेमा बनाउन लागेका हौँ । एउटा मनछुने पारिवारिक कथामा सिनेमा तयार हुनेछ । यसले दिने सन्देश एकदमै महत्त्वपूर्ण र सान्दर्भिक छ ।’
त्यस्तै, महेश त्रिपाठीले ‘आशा’को विषयवस्तुले आकर्षित गरेर सिनेमामा जोडिएको बताए । उनले भने, ‘यसको कथा बनिरहेका सिनेमाको भन्दा फरक छ । एउटा अभिनेतालाई राम्रो कथामा काम गर्ने लोभ सधैं हुन्छ, त्यसैले यसमा जोडिएको हुँ । यो सिनेमाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिनेछ ।’ उनले ‘परान’पछि अञ्जनासँग फेरि सहकार्य गर्न पाउँदा खुसी लागेको पनि बताए ।




प्रतिक्रिया